साझा कथा । आमा, आफैँमा अतुलनीय गुरुत्व बोकेको शब्द । आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ ।
प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ । आमाहरुको महिमागानमा कैयौँ कथाहरु र कविताहरु बनेका छन् । सन्तान सुखका लागि आफूले विष समेत पिउन पछि नपर्ने आमाहरु छोराछोरीको पढाईका लागि अनवरत संघर्ष गरिरहन्छन् । छोटकरीमा भन्दा आमा महान छिन् ।
बाँकेको कोहलपुरमा पनि एउटी आमाले यस्तै महानता देखाएकी छन् । कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखिन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी धितो राखेर शुल्क तिरेकी हुन् । उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुन् ।
कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ ।’
शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन् । तर गाउँमा मान्छे मरेकाले उनले सोचे अनुसार हुन सकेन । उनले भनिन्, ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन । खसी बिक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ ।’
कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीबहादुरले भने एसइई दिन पाउने भएका हुन् । अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताइन्। ‘छोराको खुसी नै मेरो खुसी हो,’ उनले भनिन्।
उनका पति रोजगारीको शिलशिलामा भारतमा छन् ।