साझा कथा । १० जना नयाँ मन्त्रीहरुले सपथ लिएका छन् । नेपाली काँग्रेसका ४, एकीकृत समाजवादीका दुई, माओवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना गरी १० जना मन्त्रीहरुले सपथ लिएका हुन् । उनीहरूले राष्ट्रपति भवन शितल निवासमा भएको एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलमार्फत शपथ लिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री बनाएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।
जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता चौधरी पनि मन्त्री भएकी छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नयाँ गठबन्धन बनेपछि पहिलोपटक सरकार विस्तार भएको हो । नेपाली काँग्रेसबाट बाँकी ४, जनता समाजवादीका १ नयाँ मन्त्रीलाई समेटेर अर्को चरणमा मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने भएको छ । ती दुई दलको आन्तरिक किचलोका कारण मन्त्रीहरु चयन हुन नसकेका हुन् ।