साझा कथा । नेपाली महिला रेस्लर मुना श्रेष्ठ । जसलाई रेस्लिङ क्षेत्रमा ‘लेडी ड्रयागन’ भनेर चिनिन्छ । उनी यस्ता रेस्लर हुन् जो महिलासँग भन्दा बढी पुरुषहरुसँग रेस्लिङ खेल्छिन् । यो कमैलाई विश्वास लाग्ने यथार्थ हो ।
खासमा हामीले टेलिभिजन वा प्रतियोगिताहरुमा देखिरहने दृष्य भनेको महिलासँग महिला रेस्लरले खेलिरहेको हुन्छ । तर, आश्चर्यको कुरा लेडी ड्रयागनसँग महिलाहरु रेस्लिङ खेल्न डराउँछन् । उनले केवल रमाइलोको लागि मात्रै पुरुषसँग खेलेको भने पक्कै होइन । थुप्रै पुरुषहरुलाई पछाडि पार्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु समेत हात पारेकी छिन् ।
सन् २०१७ देखि खेल्न सुरु गरेकी मुनाले विशेषगरी तीन विधामा रेस्लिङ खेल्दै आएकी छिन् । यसमा हार्डकोर (साइन गरेर खेल्ने), फायर म्याच (आगोमा खेल्ने) र ब्लड म्याच छन् । यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नुपर्ने उनको अनुभव छ ।
हाम्रो नेपाली समाजमा पुरुषभन्दा महिला केहीमा कम छैनन् भन्ने उदाहरणीय कामका लागि पनि पुरुष रेस्लरसँग बढी खेल्ने गरेको उनको भनाइ छ । उनले खेल्ने हरेक खेल नाटकीय नभई यथार्थपरक हुने गरेको छ । उनले हार्डकोर, फायर म्याच र ब्लड म्याच विधाको खेलमा पुरुष रेस्लरसँगै खेल्दै आएकी छिन् । उनको अनुभव छ कतिपय देशका महिला खेलाडी पनि उनीसँग खेल्न डराउँछन् । त्यसकारण पनि उनी पुरुषसँग खेल्नुपर्ने हुन्छ ।
विशेषगरी रेस्लिङ मनोरञ्जनमुखी खेल भएका कारण हार्डकोर खेल्ने खेलाडीसँग खेल्न अन्य महिला रेस्लर रुचाउँदैनन् र सक्दैनन् पनि । हार्डकोर मनोरञ्जनभन्दा पनि वास्तविक हुन्छ र यो कठिन हुन्छ । यस खेल खेल्नुअघि पहिला नै खेलाडीलाई खेल दौरान रिङमा केही भइहाले वा ठूलै चोटपटक लागेमा खेलाडीको परिवारले खोज्न या विरोध गर्न पाउँदैन भनेर सुरुमै हस्ताक्षर गराएको हुन्छ । त्यसकारण पनि स्वदेशी तथा विदेशी महिला रेस्लरले उनीसँग खेल्न नमान्ने उनको भनाइ छ ।
“रिङमा कुटाकुट गरेको दृश्य देख्दा दर्शक जति उत्साहित हुँदै ताली पिट्छन् त्यति नै रिङमा आफूले जोखिम उठाउनुपर्ने हुन्छ, कहिलेकाहीँ त ज्यानै जाने सम्भावना पनि हुन्छ । यसकारण पनि महिला खेलाडी यस खेलमा त्यति उत्साहित छैनन्”, उनको अनुभव छ । यसका बाबजुद पनि उनी देशको नाम राख्न हरदिन मेहनत गर्छिन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भेट्टाएसम्म खेल्छिन् पनि । सन् २०१७ मा आफूले रेस्लिङ सुरु गरे पनि विभिन्न प्राविधिक समस्याले अगाडि बढ्न नसकेको उनी बताउँछिन् ।
धेरै बाधा अड्चनका बाबजुद रेस्लिङलाई नै अगाडि बढाउँछु भन्ने दृढ विश्वासका साथ उनले सन् २०१९ मा आफ्नै नाममा यूडब्लूई (अल्टिमेट रेस्लिङ इटरटेनमेन्ट) कम्पनी खोलेर रेस्लिङलाई निरन्तरता दिइन् । हाल उनको कम्पनीमा १९ जना महिला रेस्लर रहेका छन् । यसै कम्पनीबाट पछिल्लोपटक उनले भारतमा यसै महिना सम्पन्न अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितिन् । त्यसअघि उनले सन् २०१९ मा नेपालमा भएको एसियन अन्तर्राष्ट्रिय महिला रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पराजित गर्दै उपाधि हासिल गरिन् भने सन् २०२१ मा पाकिस्तानले आयोजना गरेको वल्र्ड हेब्बीवेट रेस्लिङ च्याम्पियनसीपमा उपाधि जितिन् ।
दुईवटा बच्चाकी आमा उनका सङ्घर्षका दिनहरू निकै कठिन छन् । कतिपय अवस्थामा घरमै शारीरिक र मानसिकलगायतका यातना भोग्न बाध्य भएकी उनले बुवाआमाको इज्जतका लागि पनि अनेक खालका हिंसा सहेर बसेको बताइन् । आज खेल क्षेत्रको माध्यमबाट विदेशमा देशको नाम चिनाउन पाउँदा आफूलाई गर्व महसुस हुने र आफूले विगतमा सहेखपेका अनेक हिंसा र अप्ठेराहरू बिर्सने गरेको उनको भनाइ छ । यूडब्लूई (अल्टिमेट रेस्लिङ इटरटेनमेन्ट)को आयोजनामा यही चैत २४ गते रेस्लिङअन्तर्गतको फायर म्याच पनि हुँदैछ ।