साझा कथा । सेताम्य दारी–जुँगा र कपाल फुलेको छ । उमेर हेर्दा नातिनातिनासँग खेल्ने समय हो । उमेर बढेपनि शरीर तन्दुरुस्त छ । बागलुङ नगरपालिका–४ कुँडुलेका टिकाराम सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमा भेटिन्छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके । उमेरले सात दशक लाग्दा पनि उनमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन । उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो ।
साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कत्ति पनि विचलित छैनन् । व्यावसायिकरूपमा गोलभेँडा, काउली, बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उहाँ थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथी बनेका छन् । पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन् । कृषि कर्मबाट निकै सन्तुष्ट देखिने सापकोटालाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ ।
व्यावसायिक तरकारी खेती गर्नुपूर्व सापकोटा परिवारलाई बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो । ज्याला–मजदुरी र निमेक गरेर परिवार पाल्नुपथ्र्यो । तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब दुई करोडको जग्गा किन्न सफल भए उनी । यो सफलता सहजै प्राप्त भएको भने होइन । थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ । सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको तितो अनुभव पनि छ उनीसँग ।
किसान सापकोटा भन्छन्, “जिन्दगीमा के काम गरिएन र, सबै काम गरियो तर, तरकारी खेतीबाट मलाई सुख र खुसी मिल्यो, विसं २०४८–४९ तिर गोलभेँडा, काउली र मसला बिक्रीका लागि बागलुङ बजारतिर लग्यौँ तर बिक्री भएन । सबै फाल्नुपर्छ कि भन्नेजस्तो लाग्यो, त्यतिबेला निकै दुःख लागेको थियो, तर पछिपछि राम्रो भयो, यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ ।”
उनले आफ्नो सफलताको कथा सुनाए, “अहिले मलाई धेरै सन्तुष्टि मिलेको छ, तरकारी खेती नगरेको भए मलाई सात भाइ–बहिनी छोराछोरी हुर्कान, पढाउन र परिवार चलाउन गाह्रो हुन्थ्यो, तर अहिले राम्रै ठाउँमा सात रोपनी जग्गा किन्न सफल भएँ, छोराछोरी कोही जापान छन्, कोही कहाँ छन्, तर सबैलाई राम्रो भएको छ, अब त म समस्यामा छैन, यी सबै उपलब्धि मेरो कृषि पेसाबाट नै भएको हो ।”
सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको अनुभव पनि छ उनीसँग । सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको सापकोटा बताउँछन् । तरकारी खेती थाल्नुभन्दा पहिले अरुको भारी बोक्ने, होटलमा काम गरेर जीविका धानेका सापकोटाले सामान्य खाना, लाउन र परिवार चलाउन मुस्किल भएको समय पनि व्यहोरे तर अहिले उनको जीवन बदलिएको छ । उनी अरुका लागि प्रेरणा बनेका छन् ।