साझा कथा । आगामी बैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि निर्वाचित भएका क्षेत्रमा उपचुनाव हुन लागेको हो । उपनिर्वाचन भएपनि यसको चर्चा निक्कै बढेको छ, यो आमनिर्वाचन जत्तिकै महासंग्राम बन्दैछ । यसको कारण तीन वटै क्षेत्रमा हेभिवेट उमेदवारहरु हुनु हो ।
चितवन-२ जहाँ रवि लामिछाने पुनः उमेदवार छन्, नेपाली काँग्रेसले पूर्व जिल्ला सभापति तथा चितवनका चर्चित नेता जितनारायण श्रेष्ठलाई उठाएको छ । त्यसकारण चितवन-२ चर्चाको शिखरमा छ । नेपाली नागरिकताका सम्बन्धमा सर्वोच्चले गरेको फैसलाले यसअघि निर्वाचित रवि लामिछानेको पद गुमेको थियो । उनी पुनः त्यहाँ उमेदवार हुँदा विभिन्न अड्कलबाजी भइरहेका छन् । कतिपयले उनले पहिले भन्दा बढी मत ल्याउने बताइरहेका छन् भने कतिपयले स्वतन्त्र पार्टीको साख खस्किएको अनुमान गरेका छन् ।
उता तनहुँ-१ मा चर्चित अर्थशास्त्री डा. स्वर्णिम वाग्ले उमेदवार बनेपछि महासंग्राम हुने भएको छ । यसअघि नेपाली काँग्रेसमै आवद्ध वाग्ले नेपाली काँग्रेसका स्थानीय नेता गोविन्द भट्टराई र नेकपा एमालेका तर्फबाट उमेदवार बनेका सर्वेन्द्र खनालको सामना गर्ने ठाउँमा पुगेका छन् । स्वतन्त्र पार्टीले उनलाई टिकट दिएसँगै तनहुँमा नेपाली काँग्रेस समेत विभाजित भएको छ । गत मंसिरको चुनावमा काँग्रेस नेता गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका कारण उनले कसलाई सहयोग गर्छन् यसले चुनावी नतिजामा अर्थ राख्छ।
यस्तै उपराष्ट्रपति यादव निर्वाचित भएको बारा निर्वाचन क्षेत्र नम्बर-२ मा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेसका पुराना नेता राजेन्द्र महतो लगायतका नेताहरु भिडन्तमा उत्रने भएपछि त्यस क्षेत्रलाई पनि निक्कै चासोका साथ हेरिएको छ । त्यसमाथि नेपाली काँग्रेसले समेत गठबन्धनका साझा उम्मेदवारको रुपमा उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि त्यस क्षेत्रको निर्वाचन झन् रोचक हुने भएको छ । नेपाल प्रहरीका चर्चित पूर्व डिआइजी रमेश खरेल स्वतन्त्र पार्टीबाट चुनावमा भिड्ने भएपछि सो क्षेत्रको माहौल झनै तातेको छ ।
नेपाली काँग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्नुको कारण स्पष्ट भने छैन । काँग्रेसका एक नेताका अनुसार उनी सत्ता गठबन्धनका साझा उमेदवार भएको हुनाले समर्थन गरिएको हो । सत्ता गठबन्धनको उमेदवार यादव हुन् भन्ने हो भने सरकारमा सहभागी भएकै दल लोकतान्त्रिक समाजवादी दलले महतोलाई उमेदवार बनाएको छ । यस्तै सत्तारुढ जनमत पार्टीले समेत शिवचन्द्रप्रसाद कुशवाहालाई उमेदवार बनाएको छ । यसरी हेर्दा सत्तारुढ दलहरुबाटै ३ जना उमेदवार छन् । नेकपा एमालेले बारा २ मा आफ्नो उमेदवार घोषणा गरिसकेको छैन । आखिर किन उपेन्द्रलाई समर्थन गर्ने निर्णयमा पुग्यो त काँग्रेस ? सो पार्टीका एक नेताले साझा कथासँग भने, ‘उपेन्द्र यादव एक शीर्ष नेता र संसदमा चाहिने नेता भएको हुनाले उनलाई समर्थन दिइएको हो । अरु ठूलो कारण छैन ।’
लोसपा र जनमत पार्टी भने उपेन्द्रलाई जसरी पनि रोक्ने योजनामा छन् । जनमत पार्टीले उठाएका कुशवाहा त्यस क्षेत्रका चर्चित र माओवादीका प्रभावशाली मधेसी नेता हुन् । त्यसको फाइदा लिनका लागि जनमतले उनलाई पार्टी प्रवेश गराएर उमेदवार बनाएको हो ।