विज्ञानको चमत्कारः विरुवा रोएको आवाज रेकर्ड भयो

साझा कथा । हामी पीडा हुँदा, दुःख हुँदा रुन्छौँ कराउँछौँ । जनावरहरु पनि दुःख पर्दा र असह्य पीडा हुँदा आवाज निकालेर रुन्छन् । यो सामान्य प्रक्रिया हो । तर विरुवाहरु समेत दुःख र पीडा हुँदा रुन्छन् भन्ने पत्ता लागेको छ । जुन आफैँमा आश्चर्यजनक छ ।

हो, हालैमात्र वैज्ञानिकहरुले विरुवा रोएको आवाज रेकर्ड गरेका छन् । इजरायलको तेल अभिभ विश्वविद्यालयले गरेको अनुसन्धानको क्रममा विरुवा रोएको आवाज रेकर्ड गरिएको हो । विश्वविद्यालयले विश्वमा पहिलोपटक विरुवाले निकालेको आवाज रेकर्ड गरिएको र त्यसको विश्लेषण गरिएको दाबी गरेको छ ।

‘सेल’ नामक जर्नलमा प्रकाशित भए अनुसार सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन् । यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन् । विशेषखालको अल्ट्रासोनिक माइक्रोफोनको सहायताले विरुवाको आवाज रेकर्ड गरिएको हो । यस्तो आवाज मानव कानले सुन्न नसकिने वैज्ञानिकहरुले जनाएका छन् । खासगरी विरुवा तनावमा हुँदा विशेष प्रकारको आवाज आउँदो रहेछ, जुन अल्ट्रासोनिक माइक्रोफोनले रेकर्ड गरेको हो ।

विरुवामा पानीको मात्रा कम हुँदा वा हाँगा, पात काटिँदा यस्तो आवाज निकाल्ने गरेको वैज्ञानिकहरुको दाबी छ । विश्वविद्यालयकी जीव विज्ञानकर्मी लिअच अदानी जो यस अनुसन्धानमा संलग्न थिइन्, उनले भनेकी छन्, ‘बिरुवाहरूले माहुरीलगायत अन्य जीवहरूसँग पनि अन्तर्क्रिया गर्छन्।’

वैज्ञानिकहरुले सिउँडी (क्याक्टस), सुर्तिको विरुवा र टमाटरको विरुवालाई हरितगृहभित्र राखेर यो विषयमा अध्ययन गरेका थिए । पछि उनीहरुले यस्तो अध्ययन अंगुरको विरुवामा पनि गरेका थिए ।

वैज्ञानिकहरुका अनुसार तनावमा भएका विरुवाले प्रतिघण्टा ५० पटकसम्म यस्तो आवाज निकाल्छन् भने तनावमा नरहेका विरुवाले प्रतिघण्टा एकपटकसम्म यस्तो आवाज निकाल्न सक्छन् ।

(स्रोतः अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु)

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?