सिक्टा सिँचाइमा अर्को ब्रेक-थ्रू, पूर्वी बाँकेमा बर्षैभरी पानी

साझा कथा । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनामा अर्को ब्रेकथ्रू भएको छ । बाँके जिल्लामा रहेको उक्त सिँचाइ आयोजनाको पूर्वी नहरको ३७ किलोमिटर नहर निर्माण कार्य सम्पन्न भएको छ । र नहरबाट पानी समेत छोडिएको छ । यसअघि सो आयोजनाको ४२.२५ किलोमिटरको पश्चिमी मूल नहरबाट पानी छोडिसकिएको थियो ।

अगैयामा रहेको आयोजनाको मुख्य बाँधबाट पूर्वी मूल नहरको ३७ किलोमिटरको निर्माण कार्य हाल सम्पन्न भई पानी परीक्षण गरेर किसानका लागि ३९ किलोमिटरसम्म नियमित पानी बगाइएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । सो अन्तर्गतका ६ वटा शाखा नहरको निर्माण कार्य पनि सम्पन्न भएको छ ।

आयोजनाको पूर्वी नहरमा पर्ने फत्तेपुर, राजकुलोका साथै एस १ देखि एस ४ सम्म गरी ६ वटा शाखा नहरको निर्माण कार्य निर्धारित समयमै पूरा भई किसानको खेतबारीमा वर्षभर पानी पुग्ने गरी पानी बगाइएको आयोजनाले जनाएको छ । सो नहरमा पानी छोडिँदा पूर्वी क्षेत्रको राप्तीसोनारी र नरैनापुरका ४२ सय हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाबाट पश्चिममा ३३ हजार ७६६ र पूर्वमा नौ हजार हेक्टर गरी जम्मा ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेकोमा हालसम्म पश्चिममा १६ हजार र पूर्वमा ४२ सय गरेर २० हजार २ सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

पूर्वी नहरको निर्माण पूरा भई पानी समेत बगेको देख्दा निकै खुसी लागेको प्रतिक्रिया दिँदै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले अब सिँचाइ सुविधा नभएको ४२ सय हेक्टर जग्गामा वर्षभर सिँचाइ पुगेकाले किसानलाई ठूलो राहत हुने बताए ।

बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी पश्चिम नहरतर्फको ३३ हजार ७०० हेक्टर र पूर्वी तर्फको ९ हजार हेक्टर खेतीयोग्य जमिनलाई सुख्खा लाग्नबाट बचाउने उद्देश्यले आर्थिक वर्ष ०६१०६२ देखि सिक्टा सिँचाइ आयोजना सुरु गरिएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?