साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय विरुद्ध युवराज सफलले रिट हालेका हुन् । आइतबार नै रिट दर्ताका लागि पुगेका सफलले रिट सच्याउनुपर्ने भएकाले आज लगिएको थियो ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले यसअघि राहदानी दुरुपयोगका सम्बन्धमा लामिछानेविरुद्ध मुद्दा चलाउने निर्णय गरेका थिए । सोही निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको हो । रिट उपर मंगलबार सुनुवाई हुने बताइएको छ । यदि महान्यायाधिवक्ताको निर्णय सर्वोच्चले उल्ट्याएमा रवि लामिछाने विरुद्ध अर्को मुद्दा दर्ता गर्नुपर्ने हुन्छ । मुद्दाकै कारण उपनिर्वाचनमा भाग लिइरहेका लामिछानेको राजनैतिक भविष्य नै समस्यामा पर्न सक्छ । यद्यपी सरकार वादी हुने मुद्दामा महान्यायाधिवक्ताको निर्णय नै अन्तिम हुने गर्छ । राहदानी दुरुपयोगको मुद्दा परेमा सरकार वादी भएर मुद्दा लड्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने दिन चैत ६ गते महान्यायाधिवक्ता पोखरेलले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए ।
अमेरिकी राहदानी हुँदाहुँदै लामिछानेले नेपाली राहदानी लिएको भन्दै उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउन गृह मन्त्रालयमा उजुरी परेको थियो ।