साझा कथा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन हुँदा जुन उल्लास थियो, त्यो सबै चकनाचुर भएको छ । अपेक्षा अनुरूप अन्तर्राष्ट्रिय उडान नभएपछि आजभोली विमानस्थल सुनसानप्रायः देखिएको छ । गत जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम सकिँदै गर्दा सबै क्षेत्रमा उत्साह बढेको थियो तर अहिले निराशा छाएको छ ।
करिब ४३ अर्ब लागतमा बनेको विमानस्थलमा सीमित उडानमात्रै भएका कारण कर्मचारीले कुरेर बस्नेमात्र काम भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति, आवश्यक उपकरण जडानमा सरकारले समयमै काम नगर्दा विमानस्थल पूर्ण सञ्चालनमा आउन सकेको छैन । यो विमानस्थलको प्रमुख समस्या हवाई रुट भएकाले भारतसँगको कूटनीतिक पहल जरुरी देखिएको बताइएको छ ।
जेठ २ मा कुवेतको जजिरा एयरवेजले सुरुवाती उडान गर्दै कात्तिकसम्म सातामा दुई उडान गरेको थियो । त्यसपछि जाडो मौसमसँगै सबै अन्तर्राष्ट्रिय उडान ठप्प भए । अहिले तीन महिनापछि पुनः सुरु भए पनि चित्तबुझ्दो छैन । मौसम खराबीका कारण तीनपटक अन्तर्राष्ट्रिय उडान भारतको लखनउ विमानस्थलमा डाइभर्ट गर्नुपर्दा यात्रुले समस्या झेल्नुपरेको थियो ।
भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले नियमित उडान र हिमालयन एयरलाइन्सले चार्टर उडान भर्दै आएको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दराज दाहालले विमानस्थलमा नयाँ उडान थपिने क्रममा रहेको बताउनुभए पनि त्यसो हुन सकेको छैन ।
विमानस्थलमा क्याटोगरी–१ को आईएलएस उपकरणहरूका साथै क्याटोगरी–२ का उपकरण पनि प्रयोग गरिएका छन् । आईएलएस क्याटोगरी–१, क्याटोगरी–२, क्याटोगरी–३ को ए, बी, सी उपकरणले पनि क्रमशः खराब मौसममा पनि विमानलाई उडान–अवतरण गर्न सहज गर्ने हो । क्याटोगरी–२ मा केही थप उपकरण जडान गरेर खराब मौसममा पनि विमानस्थल सञ्चालन गर्न सकिने भए पनि आईएलएस सुचारु गर्दा भारतको भूमिमा रेन्ज पुग्ने हुँदा त्यसलाई रोकिएको छ ।
अनुमति विना उक्त कार्य गरिएमा विमान दुर्घटना वा कुनै समस्याको क्षतिपूर्तिको दाबी गर्न नमिल्ने हुन्छ । सरकारबाट अनुमतिका लागि गम्भीर भएर भारतसँग छलफल भएको छैन । अर्बौँ ऋणमा बनेको विमानस्थल सञ्चालनको दैनिक खर्च लाखौँ रुपियाँको छ ।
गौतमबद्धबाट उडान भर्न २०–२५ वटा मुलुकका विमान कम्पनीहरूले छलफल गरेका थिए । तर सुविधा, सुरक्षा, नाफालगायतका विषयमा प्राविधिक कठिनाइ भएकाले तत्कालै उडान भर्न इच्छुक नदेखिएको बताइएको छ । विमानस्थललाई लक्षित गरी भैरहवामा अर्बौँ रुपैयाँ लगानी भइसकेको छ ।
विमानस्थल पूर्ण सञ्चालन नभएका कारण निजी क्षेत्रले गरेको अर्बौँको लगानी जोखिममा परेको छ । व्यवसायीहरु निराश भएका छन् ।