न फुट्छ, न जुट्छ नेपाली काँग्रेस

साझा कथा । संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेस फेरि आन्तरिक किचलोमा फसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागिताको विषयलाई लिएर काँग्रेसमा कचिंगल देखिएको छ । संस्थापन पक्ष र शेखर कोइराला समूहका तर्फबाट कति जनालाई मन्त्री बनाउने भन्ने विषयमा विवाद हुँदा सरकार पूर्ण समेत हुन सकेको छैन । पुस १० गते अघिको गठबन्धन जोगाउन नसकेको भन्दै विवाद चर्किएको काँग्रेसभित्र केहि समयको मौनतापछि फेरि छिनाझम्टी सुरु भएको छ । एमाले र माओवादी सहितको गठबन्धन भत्काउन काँग्रेस एकजुट भएको थियो । त्यो एकता राष्ट्रपतिको चुनाव र सरकारलाई दिने विश्वासको मतसम्म कायमै रह्यो । फेरि अहिले मन्त्रीको संख्यालाई लिएर आन्तरिक विवाद बढेको छ । शेखरपक्षीय नेता तथा सहमहामन्त्री जीवन परियार तीन मन्त्रालय दिन सभापति तयार नहुँदासम्म आफूहरूले मन्त्रीको नाम नदिने बताउँछन् । उनले भनेका छन्, ‘पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन पनि तीन मन्त्रालय पाउनुपर्छ । नपाएसम्म हामीले मन्त्री बन्नेहरूको नाम दिन्नौँ ।’

पार्टीभित्रको शक्ति सन्तुलन हेर्ने हो भने शेखर कोइराला समूहसँग ४० प्रतिशत भन्दा बढी छ । संसदभित्र हेर्ने हो भने १ तिहाई मात्रै छ । पार्टीभित्रको विवाद सायद अहिले यहि अंकमा आधारित छ । सरकारमा सहभागी हुँदैगर्दा नेपाली काँग्रेसको भागमा ८ वटा मन्त्रालय परेको थियो । पार्टीभित्रको हैसियत अनुसार कोइराला समूहले ३ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । तर पार्टी सभापति शेर बहादुर देउवा संसदमा कोइराला समूहको २५ जना मात्रै सांसद भएको हुनाले २ वटा मात्रै मन्त्रालय दिने पक्षमा छन् । उस्तै बाध्यता भए १ जना राज्य मन्त्री थप्न सकिने देउवाको योजना छ । तर शेखर–गगन थापा समूह ३ फूल मन्त्री नपाए सरकारमा नजाने अड्डी लिएर बसेका छन् ।
संसदीय दलको निर्वाचनमा भएको मतदानमा ६४ जना सांसदको समर्थन पाएर देउवा विजयी हुँदा महामन्त्री गगन थापाले जम्मा २५ मत पाएका थिए । उक्त मत सङख्यालाई कतिपयले कांग्रेसभित्र कोइराला खेमा अझ विशेषगरी युवा विचारधारा समूह कमजोर रूपमा प्रकट भएको अर्थ लगाएका छन् । तर देउवा क्याम्पकै नेता मानिने महामन्त्री विश्वप्रकाश शर्मादेखि प्रदीप पौडेलसम्मको समर्थन थापालाई प्राप्त हुनु महत्वपूर्ण उपलब्धी ठान्छन् संस्थापन इतर समूहका नेताहरु । त्यसकारण पनि ३ वटा मन्त्री पाउनुपर्ने, नपाए सरकारमै नजाने उनीहरुको अडान छ ।

यस्तो अडानलाई कतिपयले पार्टी विभाजनसम्मको अड्कलबाजी गर्छन तर इतिहास भन्छ, यस्ता सामान्य विवादमा काँग्रेस कहिल्यै फुटेको छैन । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले किनारामै पार्न थालेपछि प्रधानमन्त्री हुने लोभमा देउवाले अलग्गै ‘नेपाली काँग्रेस प्रजातान्त्रिक’ पार्टी बनाएका थिए ।

कुनै समय पार्टीभित्र निक्कै शक्तिशाली रहेको कोइराला परिवार देउवा शक्तिमा आएसँगै किनारामा परेको छ । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला समेतले अहिले पार्टीमा उचित जिम्मेवारी पाएकी छैनन् । पार्टीका युवा नेताहरु गगन थापा, जीवन परियार लगायतका कुरा सकेसम्म सभापति देउवाले सुन्दै सुन्दैनन् । सुन्नैपरे पनि लागु गर्दैनन् । शेखर कोइराला त देउवाका अहिलेका सदावहार प्रतिद्वन्द्वी भइहाले, उनका कुरा पार्टीमा लागू गर्न देउवा राजी हुने कुरै भएन । तर उनको समूहका अन्य नेताका कुरा पनि देउवा विरलै सुन्ने गरेको काँग्रेस निकट स्रोत बताउँछ । नेपाली काँग्रेसभित्रको विवादकै कारण भ्रातृसंगठन नेतृत्व विहिन छन् । अधिकाँशको नियमित अधिवेशन नै भएको छैन ।

नेपाली काँग्रेसको यो विवाद विगत इतिहासलाई हेर्दा सामान्य लाग्छ । सायद नेकपा एमाले र माओवादी केन्द्रभित्र यस्तो खालका विवाद हुन्थे भने ती पार्टी फुटिसकेका हुन्थे । भ्रातृसंगठनभित्र समानान्तर कमिटि, स्ववियू निर्वाचनमा बाँडिएको टिकट र वक्तव्यबाजी, गुटगत भेलाहरु, नेताहरुका समूहगत छलफल, संस्थापन र संस्थापनइतरका बेग्लाबेग्लै कार्यक्रम, छुट्टाछुट्टै व्यानर र एकअर्काप्रति कटाक्ष गर्दै हुने भाषणबाजी, यो सबै अवस्थामा कम्युनिष्ट पार्टी एक रहन सक्ने अवस्था हुन्थेन तर काँग्रेस फुट्न सक्दैन । न त जुटिरहन सक्छ । नेपालको राजनीतिमा वैदेशिक शक्तिकेन्द्रहरु बेला बेला हावी हुने गरेको महशुस सबैले गर्छन् । वैदेशिक शक्तिकेन्द्रकै आडमा नेकपा एमाले र माओवादी केन्द्रमा फुट आएको नजिरलाई जोड्दै नेपाली काँग्रेसभित्र पनि फुट आउने समय आएको कतिपयले विश्लेषण गरेका छन् । यस्तो अवस्थामा पार्टीभित्र दीगो विवाद बोकेर काँग्रेस यात्रा गरिरहेको छ । यो यात्रा वर्तमानको चाला मात्रै होइन, यो काँग्रेसको इतिहास हो र नियमितता पनि हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?