साझा कथा । सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरु मध्ये सबैभन्दा सास्ती पाउने ठाउँको रुपमा कहलिएको राहदानी विभाग आजभोली सुध्रिएको छ । केही महिना अघिसम्म व्यापक भीडभाड देखिने राहदानी विभागमा अहिले भने चहलपहल कम देखिन्छ। राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।
केही महिना अघिसम्म सेवाग्राही रातिदेखि नै राहदानी लिनका लागि भीड बस्ने गरेकोमा अहिले भने त्यो अवस्था छैन । फारम भरेपछि राहदानी विभागले तोकेको मितिमा नै विभागमा आउँदा राहदानी पाउने व्यवस्था छ । राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाका अनुसार गत माघ १६ गतेबाट राहदानी सङ्कलनको मोडालिटी नै परिवर्तन गरेपछि सेवाग्राहीको चाप घटेको हो ।
उनले भनिन्, “पहिले तीन दिनको लागि मात्र राहदानीको फारम सङ्कलन गर्ने गरेका थियौँ । माघ १६ गतेबाट एक महिनासम्म बुकिङ खुला गर्यौँ । त्यस कारण पनि चाप कम भएको हो ।” राहदानी लिनेको भीडभाडको अध्ययन गर्न गठन गरेको टोलीले राहदानी वितरण सबै जिल्लाबाट गर्न सुरु गरे भीडभाड कम हुने सुझाएको थियो ।
राहदानी लिनेको लाइन बढी रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुगमन गरेर समाधानको प्रयास गरेको थियो । पहिले धेरै सेवाग्राही फारम भर्न नपाएको भन्दै गुनासो गर्न आउने गरेका कारण पनि मोडालिटी नै परिवर्तन गरिएको सापकोटाको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले पनि एक महिनाका लागि बुकिङ खुला गरेपछि केन्द्रको भीड सबै जिल्ला जिल्लामा बाँडिएको छ । फारम भरेर आफ्नो भिजिट डेटमा मात्रै सेवाग्राही विभागमा आउने गरेकाले पनि भिडभाड कम भएको अधिकारीहरुको बुझाई छ ।
अहिले राहदानी विभागबाट दैनिक झन्डै छ हजार राहदानी छपाई भइरहेको छ । यस्तै प्रत्येक दिन झन्डै एक हजार पाँच सय राहदानी विवरण सङ्कलन भइरहेको छ ।
तत्काल आवश्यक नभएको र भविष्यमा राहदानी आवश्यक पर्छ भन्ने लागेको भए जिल्लाबाट नै फारम भरेर आफ्नो निर्धारित मितिमा नै विभागमा आउन सकिने छ । सापकोटाले भनिन्, “तत्काल कसैलाई बाहिर जानुपर्ने भयो भने फारम भरेर कारण सहितको डकुमेन्ट लिएर विभागमा आउनुभयो भने सहजीकरण गर्छौ तर आवश्यक छैन र भविष्यको लागि भए जिल्लाबाट नै फारम भरेर तोकिएको समयमा नै लिन सक्नुहुन्छ ।”