चितवन–२ का गाउँगाउँमा उमेदवार – काँग्रेसका विश्वप्रकाश र गगन, एमालेका बाँस्कोटा पनि मैदानमा

साझा कथा । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन् । चितवनमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका नेता जीतनारायण श्रेष्ठ र नेकपा एमालेका नेता रामप्रसाद न्यौपानेबीच मूख्य प्रतिष्पर्धा हुँदैछ ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिकरुपमा शुक्रबारदेखि घरदैलो कार्यक्रम सुरु गरेका छन् । कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उम्मेदवारी दर्तासँगै प्रचारप्रसार सुरु गरेको भए पनि औपचारिक रुपमा आजदेखि घरदैलो गरिएको हो ।

उनको समर्थनमा कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालगायतका नेताहरु पनि चितवन २ मा घरदैलो कार्यक्रममा सहभागी हुँदैछन् । सत्ता गठबन्धनले भरतपुर महानगरपालिका–३ बाट घरदैलो कार्यक्रमको सुरुआत गर्दै छ ।

नेकपा (एमाले( चितवनले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङबाट घरदैलो अभियान सुरु गर्न लागेको एमालेका जिल्ला उपाध्यक्ष कमल पाठकले जानकारी दिएका छन् । नेकपा एमालेले विगत एक महिनादेखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज हुने उनको भनाई छ । एमालेका चर्चित नेता गोकुल बास्कोटा निर्वाचन समय अवधिभरका लागि भनेर चितवन २ मा खटिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेसँगै घरदैलो तथा कार्यक्रता भेटघाटलाई तीव्र पारिसकेका छन् । उनका निजी सचिव प्रकाश सिग्देलका अनुसार मनोनयन दर्ता गर्नुअघिदेखि नै निर्वाचनको तयारी गरिएको हो । मनोनयन दर्तासँगै दलका नेता कार्यक्रर्ता भेटघाटलगायत काममा व्यस्त भइरहेको उनले बताए ।

सत्तागठबन्धनसहित तीन दलहरु र अन्य साना दलहरुले समेत निर्वाचन लक्षित आफ्ना कार्यक्रमलाई तीब्र बनाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जिल्लामा आएर आफ्नो पार्टीका चुनावी कार्यक्रममा सहभागी भएका छन् । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रसारमा जुटिरहेका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहरिएपछि सांसद पद खारेज भएको थियो । लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?