साझा कथा । चीनका केही कलेजहरुले विद्यार्थीहरुले लभ गरुन् भन्ने उद्देश्यले विदा बढाएका छन् । टम्ब स्वीपिङमा दिइँदै आएको १ दिनको सार्वजनिक विदा ७ दिन बढाइएको हो । विद्यार्थीहरुले आफ्ना पार्टनर र प्रकृतिसँग पर्याप्त समय विताउन् भन्ने उदेश्यले विदा दिइएको हो । फक्स न्युजमा प्रकाशित समाचार अनुसार चीनमा घट्दो जनसंख्यालाई ध्यान दिँदै प्रेम गर्ने समय पर्याप्त बनाउन विदा लम्ब्याइएको हो ।
टम्ब स्वीपिङ चीनमा सदियौँ देखि मनाउँदै आइएको परम्परागत पर्व हो । हरेक बर्षको अप्रिल ५ तारिखमा पर्ने यस पर्वमा सरकारले १ दिन मात्रै विदा दिने गरेको थियो । तर केहि कलेज र विश्वविद्यालयहरुले यो विदाको अवधि बढाएर ७ दिन पुर्याएका हुन् ।
नागरिक उड्डयन सम्बन्धी पढाई हुने सिचुवान सावथवेष्ट भोकेशनल कलेजले विद्यार्थी र शिक्षकहरुलाई सूचना जारी गर्दै बसन्त ऋतु र प्रेमको आनन्द लिन विदा दिइएको जनाएको छ । यस्तै जियामिन विश्वविद्यालयले पनि उस्तै सूचना जारी गर्दै प्रकृति र बसन्त ऋतुको भरपुर उपयोग गर्न अपिल गरेको छ । विश्वविद्यालयका सहायक डिन लिउ पिङले विद्यार्थीहरुले जीवन र पढाईबीच तादम्य मिलाउन सकून् भनेर विदा दिइएको बताएका छन् ।