राति २ बजे ललितपुरमा ६ घर भासिए, केही स्थानीय घाइते

साझा कथा । समिट अपार्टमेन्ट निर्माण गर्नका लागि खनिएको जगका कारण वरपरका आधा दर्जन बढी घरहरु भासिएका छन् ।

ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्टको जग खन्ने क्रममा सो घटना भएको हो । शुक्रबार राति २ बजे घर भासिन थालेपछि स्थानीयहरु भागाभाग भएका थिए । सो क्रममा केही घाइते भएका छन् ।

जमिन भासिदा २ घर पूर्ण रुपमा क्षति भएको छ भने आधा दर्जन बढी घरहरुमा आंशिक क्षति पुगेको छ । पाँच तले एउटा घरको एक तला पूरै भासिएको देखिन्छ ।

घटना लगत्तै नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा पुगेको थियो । त्यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, सांसद उदयशम्शेर राणा तथा तोसिमा कार्की, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहलगायतले सो स्थानको अवलोकन गरेका थिए ।

स्थानीय पीडितहरुले भने आफूहरुसँग अनुमति नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको आरोप लगाएका छन् । उनीहरुले उचित क्षतिपूर्ति उपलब्ध गराइदिन पनि सरकारसँग माग गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?