चितुवाले घेर्दा पनि यसरी बाँचे आमा छोरी..

साझा कथा । कैलालीमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका छन् । घोडाघोडी नगरपालिका –२ साँडेपानीका जनकला शाही र उहाँकी छोरी भूमिका शाही आइतबार सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा गएका थिए ।

सेउलाको भारी बनाउँदै गर्दा एक्कासि चितुवा देखेपछि जनकलाले हतारहतार छोरीलाई आफूतिर तानेर नजिकै रहेको रुखमा चढेको बताइन् । जनकलाले कापीरहेको स्वरमा सुनाइन्, ‘‘छोरीले मम्मी बाघ आयो भन्दाभन्दै नजिकै आउन लाग्यो, हतारहतार छोरीलाई तानेर नजिकै रुखमा चढाएँ अनि म पनि चढेँ, रुखबाट अर्को पनि डाँडाबाट आउन लागेको देखेँ ।’’

दुईवटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाइन् । त्यहाँबाट इलाका प्रहरी कार्यालय सुखडको नम्बर पाएपछि प्रहरीलाई फोन गरी बोलाएको उनले जानकारी दिइन् ।

करिब एक किलो मिटर दूरीमा प्रहरी कार्यालय रहेकाले खबर पाउनासाथ प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी वीरेन्द्र विकले ‘बाघले हामीलाई घेर्‍यो हामीलाई बचाउनुस्’ भन्दै अतालिँदै फोन आएपछि आफूहरू पाँच–छ मिनेटमा जङ्गलमा पुगेको बताए । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो ।

चिडिया ताल सामुदायिक वन महेन्द्र राजमार्गसँग जोडिएको सुखड बजार नजिकै छ । स्थानीयहरू रुखबाट झरेको स्याउला मलको रूपमा प्रयोग गर्न गर्मी समयमा जङ्गल जाने गर्दछन् ।

जनकलाले चलाखी अपनाउँदै रुखमा चढेर तत्काल फोन गरेकाले आमाछोरीको उद्धार भएको हो । समयमै प्रहरीलाई खबर भएकाले पनि जनकला र भूमिका ठुलो दुर्घटनाबाट बचेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?