Ad Banner

सिंहदरबारसँग मेयर बालेनका १४ गुनासा (विस्तृत बुँदासहित)

साझा कथा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक स्टाटस लेख्दै संघीय सरकारसँग १४ बुँदे गुनासो गरेका छन् ।

९ महिनासम्म महानगरपालिका भित्रका विभिन्न समस्या समाधान गर्न विभिन्न १४ मन्त्रालय धाउँदा पनि समस्या समाधानमा खासै चासो नभएको भन्दै उनले आक्रोशित मुद्रामा फेसबुक स्टाटस लेखेका हुन् । यस अघि मात्रै मयर शाहले महानगर र काठमाडौं महानगरबीच पटक्कै समन्वय नभएको र आफ्नो कामलाई राजनीतिक मुद्ध बनाइ अड्काउन मात्रै खोजेको भन्दै सिंहदरबार भित्रको फोहोर महानगरले नउठाउने घोषणा गरेका थिए । यो घोषणासँग देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबामा फोहोरका डंगुर देखिन थालेका छन् भने दुर्गन्ध सुरु भइसकेको छ ।

‘संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुश हुन्न । मेयर शाहले भनेका छन् – ‘पटकपटकको कोसिसपछि ९ महिना पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुश्किल परेको अवस्था छ । स्थानीय समस्या समाधानका लागि संघीय सरकारले गाँठो फुकाइदिनुपर्ने उनले बताए । ‘स्थानीय समस्या स्थानीय तहमा नै समाधान हुन सकून, संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस्,’ उनले भनेका छन् ।

संघीय सरकार अन्र्तगतका गृहमन्त्रालयदेखि कृषि मन्त्रालयसम्मले आफूलाई काम गर्नमा गरेको असहयोगको फेहरिस्त उनले सार्वजनिक गरेका छन् ।

१. गृह मन्त्रालयः
अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरीका सम्बन्धमा ३ मन्त्रीसँग पटकपटक पहल, सहमति भएर माइन्यूटसमेत भइसकेको तर कार्यान्वयन नभएको।

२. परराष्ट्र मन्त्रालयः
विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार गरेको तर खासै वास्ता नगरेको ।

३. शिक्षा मन्त्रालयः
सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको।

४. स्वास्थ्य मन्त्रालयः
सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापनका विषयमा दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

५. पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयः
एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन दुई मन्त्रीलाई पटकपटक पहल गरिएको ।

६. अर्थ मन्त्रालयः
५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम सम्बन्धमा २ मन्त्रीसँग पटकपटक पहल।

७. सहरी विकास मन्त्रालयः
खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौंमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा सम्बन्धमा ४ मन्त्रीसँग पटकपटक पहल।

८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयः
रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठनलगायतका विषयमा दुई मन्त्रीहरूसँग पटक पटक पहल।

९. सूचना तथा सञ्चार मन्त्रालयः
आर्इएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् भनि २ मन्त्रीसँग पहल।

१०. ऊर्जा मन्त्रालयः
सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग गर्न २ मन्त्रीसँग पहल ।

११. खानेपानी मन्त्रालयः
मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयूकेएलको उचित व्यवस्थापन आदि पहल गर्न २ मन्त्रीसँग पटकपटक छलफल ।

१२. भूमि सुधार मन्त्रालयः
सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षणलगायतका विषयमा मन्त्रीसँग पटकपटक पहल ।

१३. सङ्घीय मामिलाः
तीनकुने विवाद पहल, कर्मचारी सरुवाका विषयमा दुई मन्त्रीसँग पटकपटक पहल ।

१४. कृषि मन्त्रालयः
मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षणलगायतका विषयमा मन्त्रीसँग पटक पटक पहल ।

यो पढ्नु भयो ?