साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ ।
रास्वपा सांसद श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ मागेको अडियो आइतवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी मागेका हुन् ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्दछ । राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रलाई मान्दछ । संविधानवादलाई मान्दछ । विधि र विधानलाई मान्दछ । यसो भनिरहँदा हामीलाई लाग्दछ भ्रष्टाचारीको कुनै जाति हुँदैन । कुनै वर्ग हुँदैन । र यो घटनालाई रास्वपाले गम्भीर रुपमा लिएको छ । यसो भनिरहँदा नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । तर ति सबैको सत्यतथ्य छानबिन हुनसक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ ।’
यस्तै परियारले आफ्नो पार्टीको सांसदमार्फत घटेको घटनाले प्रतिनिधि सभा र सदस्यहरुको सम्मानमा परेको चोटप्रति क्षमा मागे । उनले भने, ‘यो सम्मानित संसदको गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा हामी अक्षुण रहनेछौँ ।’’
उनले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी मागेका हुन् । उक्त घटना छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै उनले सो घटनाले पार्टीलाई विचलित नबनाउने उल्लेख गरे ।