कोरियामा अझै बढ्दैछ कामदारको माग, नेपाल पहिलो रोजाइमा

साझा कथा । रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियामा कामदारको माग बढ्दै गइरहेको छ । सो माग कोरियाले विभिन्न राष्ट्रहरुबाट पुर्ति गर्ने गर्छ । पछिल्लो समय सबैभन्दा बढी कामदार नेपालबाट माग हुन थालेको छ ।

दक्षिण कोरियाले ईपीएसअन्तर्गत अहिलेसम्मकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी कृषि तथा पशुपालनतर्फ पहिलो र दोस्रो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो । अहिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा सञ्चालन भइरहेको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी)का रूपमा गरिँदै आएकामा एक वर्षयता युबीटी ट्याबमार्फत गरिँदै आएको छ । निर्देशक कटुुवालले युुबीटी परीक्षा प्रणाली लागू भएसँगै परीक्षा शतप्रतिशत नै पारदर्शी भएको दाबी गरे । उनले भने, “नयाँ परीक्षा प्रणालीअनुसार परीक्षाको रोस्टममा परेकाले अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएको छ । त्यसले गर्दा नक्कली परीक्षार्थी प्रवेश गर्ने अवस्था नै रहँदैन ।”

ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए । शाखाले कृषि तथा पशुुपालनतर्फको गत पुस ४ देखि ८ गतेसम्म आवेदन दिने समय तोकेको थियो ।

ईपीएस शाखाका निर्देशक कटुवालले पछिल्लो पटक दक्षिण कोरियामा श्रमिक आपूर्ति गर्ने १६ देशमध्ये सबैभन्दा धेरै नेपाली श्रमिक पहिलो छनोटमा परेको जानकारी दिए । उनका अनुसार यसअघि कम्बोडियाबाट बढी श्रमिक लिँदै आएकामा यस वर्ष भने दक्षिण कोरियाले नेपाली श्रमिक बढी लिँदै आएको छ ।

शाखाले पछिल्लो पटक ईपीएसमार्फत मासिक दुई हजार नेपाली श्रमिक पठाउने गरी तयारी गरेको जनाएको छ । नेपालबाट जाने श्रमिकको प्रक्रिया छिटोछरितो हुने गरेका कारण पनि कोरियाले नेपालबाट श्रमिक लैजान कोटासमेत थप गरेको शाखाका निर्देशक कटुुवालले दाबी गरे ।

कोरियाले सन् २०२३ मा नेपाललगायत विभिन्न १६ देशबाट एक लाखभन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएकामा पहिलो चरणमा कृषि तथा पशुुपालनतर्फ १० हजार ७५८ माग आउनुुलाई नेपालीले ईपीएसमार्फत कोरिया गएर देखाएको इमानदारिताको सकारात्मक सङ्केतका रूपमा लिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?