साझा कथा । स्थानीय तहहरुले जनजीवन सहज बनाउन, सार्वजनिक स्वास्थ्य सुधार्न थिति बसाल्न र असल संस्कारको विकास गर्न विभिन्न नीति नियम ल्याउने गरेपनि कतिपय स्थानमा यस्ता नियमले काम गरेका छैनन् । काठमाडौं उपत्यकामा विशेष गरी काठमाडौं महानगरभित्र पनि सार्वजनिक स्थानहरुमा चुरोट, सुर्ती, पान गुट्खा खान र थुक्न निषेध गरिएको छ । यस्तै महानगरभित्र हर्न बजाउन निषेध गरिएको छ । तर कार्यान्वयन पक्ष फितलो छ । नियम त बनाइएको छ तर न त सर्वसाधारणको तर्फबाट नियम कार्यान्वयन गरिएको छ न त नियामक निकायले कारबाही नै गर्छन् ।
यस्तै नियम विराटनगर महानगरपालिकाले पनि ल्याएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।
गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धूमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो ।
विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बारम्बार दोहो¥याउँदै आएका छन् । महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको महानगरले आफ्नो क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेको छ । “विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ”, प्रमुख कोइरालाले भने, “सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।”