साझा कथा । काठमाडौं उपत्यकालाई जात्रैजात्राको सहर भनिन्छ । किनकी, काठमाडौं उपत्यका यस्तो ठाउँ हो जात्रा मेला नभएको कुनै महिना हुँदैन । अझ भन्ने हो भने हरेक साता नै यहाँ जात्रा लाग्ने गर्छ । त्यस मध्येमा पनि विशेष मेला र जात्राको केन्द्र हो भक्तपुर । भक्तपुरमा अहिले बिस्का जात्रा चल्दैछ । यो जात्रा भक्तपुरवासीका लागि विशेष जात्रा हो । जसलाई भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गर्ने गरिन्छ । रथको अगाडि र पछाडि राखिने डोरीलाई अष्टमात्रिका गणका रूपमा लिने गरिन्छ । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प मर्यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको पाइन्छ ।
नेपाल संवत् ५०० को तमसुकपत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए । अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पूजाअर्चनामा विश्व जात्रा नै उल्लेख गरिन्छ । साझा कथामा धर्मेन्द्र महर्जनले क्यामेरामा कैद गरेका बिस्का जात्राको फोटो कथा प्रस्तुत गरेका छौं ।