साझा कथा । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि आज निर्वाचन हुँदैछ । काठमाडौंस्थित कमलादीको प्रज्ञाप्रतिष्ठान भवनमा विहान १० बजेबाट मतदान सुरु भएको हो । मतदान साँझ ४ बजेसम्म चल्ने महासंघले जनाएको छ ।
यस पटकको चुनावमा ६४ पदका लागि एक सय १७ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये ५ जना भने निर्विरोध निर्वाचित भइसकेका छन् । महासंघ निर्वाचनको इतिहासमा पहिलो पटक वरिष्ठ उपाध्यक्ष पदका लागि त्रिपक्षीय भीडन्त हुँदैछ भने तीन उपाध्यक्षको लागि आठ जनाबीच भीडन्त हुँदैछ ।
जसअनुसार वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अन्जान श्रेष्ठ र रामचन्द्र संघईबीच प्रतिस्पर्धा हुँदैछ । तर, उनीहरुबीचमा कसैको पनि पहिलो चरनणमा बहुमत नआएमा विहिबार पुनः पुन मतदान हुनेछ । मतदान बढी मत आउने दुई उम्मेद्वारबीच हुनेछ ।
त्यस्तै एसोसिएट उपाध्यक्षमा २ जनाबीच भीडन्त हुँदैछ । ज्योत्सना श्रेष्ठ रामचन्द्र संघईको टिमबाट एसोसिएट उपाध्यक्ष तर्फ चुनावी मैदानमा छिन् भने ज्योत्सना श्रेष्ठसँग प्रतिस्पर्धा गर्न उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठका साझा उम्मेदवारको रूपमा भरत आचार्य छन् । त्यस्तै उमेशलाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल छन् ।
यस्तै, अन्जान समूहबाट जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मणिलाल प्रधान छन् भने रामचन्द्र समूहबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फ शकुन्तला हिराचन छन् । महासङ्घको जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ ११८ वस्तुगततर्फ १२३ र एसोसिएटतर्फ १७ सय ४८ मतदाता छन् ।