साझा कथा । उपचारको क्रममा लागेको खर्च अस्पताललाई बुझाउन नसकेपछि धनुषाको सबैला नगरपालिका-९ की मन्तोरिया देवी राय ३८ दिनसम्म अस्पतालमै बन्धक बनेकी थिइन् । उनी मात्रै होइन, उनीसँगै उनका तीन छोराछोरी र वृद्ध अवस्थाका ससुरा समेत अस्पतालमा बन्धक बस्नु पर्यो ।
गत माघ १२ गते मोटरसाइकको ठक्करबाट घाइते भएकी मन्तोरिया जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । उपचार गर्दै जाँदा उनले खर्च पुर्याउन सकिनन् । आफूसँग भएको सबै खर्च गर्दा पनि ८ लाख ७४ हजार रुपैयाँ अस्पताललाई तिर्न बाँकि नै रह्यो । सोही कारण अस्पतालले गत फागुन २० गते नै डिस्चार्ज गरेपनि सबै रकम तिर्न नसक्दा उनी बन्धक बन्नु परेको हो ।
उपचार खर्च तिर्न नसकेर बन्धक बन्नु परेको खबर सुनेपछि सबैला नगरपालिकाकाको पहल उनलाई ३९ औं दिनमा घर फर्काइएको छ । नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार घर फर्काइएको बताए । नगरप्रमुख यादवले रु. एक लाख सहयोग गरेका छन् । बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको नगरप्रमुख कारीराम यादवले बताए ।
सोमबार नगरप्रमुख यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिएका थिए । कार्यपालिकाको बैठकबाट उनलाई उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो ।