सूर्योदय हेर्न पुनहिलमा नयाँ वर्षमा पर्यटकको घुइँचो

साझा कथा । म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

विशेषगरि पुनहिल क्षेत्रमा नयाँ वर्ष मनाउन र सूूर्योदयको मनमोहक दृष्यावलोकन गर्न पर्यटकहरु पुुगेका छन् । त्यस क्षेत्रका घोरेपानी, मोहरेडाँडा, खोपारा, स्वर्गाश्रम, बेलढुङ्गा, रुइसे, गाजने, टोड्केलगायतका स्थलमा आन्तरिक पर्यटकको आगमन बढेको देखिन्छ । पर्यटकका लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण हिमाल र धवलागिरी हिमालमा आरोहणका लागि विदेशी पर्यटकको आवतजावतसमेत बढेको छ ।
आधार शिविर क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटक आउन थालेको अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेका अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका तेज गुरुङले बताए । सडक सञ्जालले आधार शिविर क्षेत्रमा पुग्ने समय घटाएपछि पदयात्रामा आउने पर्यटक बढेको उनले जानकारी दिए ।

चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोरेपानी–पुनहिल क्षेत्रमा यस याममा बढी पर्यटक भित्रिएका छन् । पर्यटकका लागि अनुकूल मौसम भएको र जङ्गलमा ढकमक्क फुलेका लालीगुराँसले नयाँ वर्षको अवसरमा भ्रमणमा आउनेको सङ्ख्या ह्वात्तै बढेका घोरेपानीका होटल व्यवसायी रनबहादुर पुनले जानकारी दिए ।

घोरेपानी क्षेत्रमा रहेका ३० होटल तथा मोहरेडाँडास्थित सामुदायिक लज दैनिकजसो भरिभराउ हुन थालेपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् । अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका दर्जन बढी हिमाल एकै ठाउँबाट अवलोकन गर्नुका साथै सूर्योदय, घना गुराँसे जङ्गल र जैविक विविधतायुक्त क्षेत्रमा रमाउनका लागि यस क्षेत्रमा बाह्य र आन्तरिक पर्यटक आउने गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?