साझा कथा । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रेको तयारी गरिएको छ ।
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रेको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । “यो खण्डमा विद्युत् पोल स्थानान्तरण नहुँदा काममा केही समस्या आएको थियो, विद्युत् पोल हटाउँदै गइएको छ”, सुवेदीले भने, “सबै पोल स्थानान्तरण भइसकेको छैन तर हटाउने काम जारी छ ।”
विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जानकारी दिए । सुवेदीले भने, “ जहाँसम्म लाग्छ १० दिनभित्र काम सुरु हुन्छ ।” उनका अनुसार सडक कालोपत्रेको परीक्षण भइसकेको छ । “कालोपत्रेको ट्रायल भइसक्यो, कालोपत्रे सडकलाई छुवाइसक्यौँ”, सुवेदीले भने ।
आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२ दशमलव ५ प्रतिशत रहेको सुवेदीले बताए । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।