साझा कथा । सामाजिक सञ्जालहरुमा केहि रिपोर्टहरु प्रकाशन गर्दै केहि व्यक्तिहरुले आगामी बैशाख १० गते हुने उपनिर्वाचनको नतिजाको प्रक्षेपण गरिरहेका छन् । ती सर्वेक्षणहरु कति सत्य र वैज्ञानिक छन्, एकीन त छैन तर निर्वाचन क्षेत्रको माहौल भने तताइरहेका छन् । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । यसअघि देशभरमा सबैभन्दा बढी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको क्षेत्र र उनी पुनः त्यस क्षेत्रबाट उमेदवार भएका कारण पनि सबैको ध्यान खिचिएको छ । मंसिर ४ गतेको चुनावमा केन्द्रीय नेताहरुको त्यति आकर्षण नभएको सो क्षेत्रमा अहिले केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएका छन् । कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै चर्चित नेताहरुलाई नै वडा तहमा खटाएका छन् । रास्वपाले गत मङ्सिर ४ गते प्राप्त गरेको मतको सुरक्षाका लागि भएपनि मेहनत गरिरहेको छ ।
दलहरूका लागि पेचिलो बन्दै गएको यस क्षेत्रमा कांग्रेसले आठ केन्द्रीय सदस्यसहितका प्रतिनिधिलाई जिल्लामा खटाएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले बताए । उनका अनुसार केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री, प्रदेश सांसद, पूर्व जिल्ला सभापतिलाई प्रतिनिधिका रूपमा खटाएको हो ।
उपनिर्वाचन लक्षित गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक चितवन गएर फर्किएका छन् । उनी फेरि जाने कार्यक्रम छ भने आज आइतबार अर्का महामन्त्री गगनकुमार थापा चितवन जाँदै छन् । सहमहामन्त्री बद्री पाण्डे पनि कार्यक्रममा सहभागी भएर फर्किसकेका छन् । सहमहामन्त्री जीवन परियार पनि जाँदै छन् । केन्द्रीय सदस्य मधु आचार्य, डिला सङ्ग्रौला, नैनसिंह महर, सरिता प्रसाईँ, दिलमान पाख्रिन, रामहरि खतिवडा, चिनकाजी श्रेष्ठ र अव्दुल सतार त्यहाँ खटिएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका अन्य घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता पनि चुनावी अभियानमा जुटेका छन् ।
एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा विगत एक महिनाभन्दा बढी समयदेखि जिल्लामै छन् । एमाले नेता कृष्णभक्त पोख्रेलका अनुसार पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलगायतका नेता पनि त्यहाँ खटिएका छन् । सचिव गोकर्ण विष्ट जाँदै छन् भने यही वैशाख ६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओली चितवनमा जाने कार्यक्रम छ ।
रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डिपी अर्यालसहितका केन्द्रीय नेता पनि चुनावी अभियानमै छन् । सभापति रवि लामिछानेका निजी सचिव प्रकाश सिग्देलका अनुसार पार्टीका नेता एवं सांसद विराजभक्त श्रेष्ठ, शिव नेपाली, सोबिता गौतम, हरि ढकाल, दीपक बोहोरा, ध्रुव गिरी, वसुमाया तामाङ, गणेश पराजुली, हरि भट्टलगायतका नेता चितवन २ मै छन् ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, उपाध्यक्ष विक्रम पाण्डेलगायतका केन्द्रीय नेताको उपस्थितिमा चुनावी कार्यक्रम भएको छ । सो पार्टीका केन्द्रीय नेतासमेत चुनावी अभियानमा रहेका छन् । उपनिर्वाचमा चितवन–२ मा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको थियो । रिक्त पदमा वैशाख १० गते निर्वाचन हुन लागेको हो । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेसहित २२ उम्मेदवार प्रतिष्पर्धा गर्दैछन् ।
सामाजिक सञ्जालमा प्रकाशित उक्त सर्वेक्षण अनुसार रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी हुने देखाइएको छ । तर नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले आफ्ना उमेदवार नै हुने दाबी गरेका छन् । एमाले नेता गोकुल बाँस्कोटाले त १ मतले भए पनि पार्टीका उमेदवार न्यौपानेले जित्ने जिकिर गरे ।