कोरोना संक्रमण बढेको बढ्यै, थप एक जनाको मृत्यु

साझा कथा । सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ ।

सङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । गतको बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणदर बढेसँगै सक्रिय बिरामी पनि बढेका छन् । हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन् । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयूमा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

सीमानाका हुँदै भारतबाट भित्रिने बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ । कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी–कमजोरी देखिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?