साझा कथा । आमनागरिकको घरघरमा सहज उपलब्ध गराउने र आफ्नो संस्थाको पनि ब्रान्डिङ गर्ने उद्देश्यले अहिले यत्रतत्र भित्तेपात्रो प्रकाशन गर्ने प्रचलन छ ।
कुनै पनि संस्थाले आफू खुशी पात्रो प्रकाशन गर्ने गरेको पाइन्छ । बैंक, वित्तीय संस्था, कलेज, स्कुल, कर्पोरेट हाउसहरु आदिले त हरेक वर्ष नछुटाइकन भित्तेपात्रो प्रकाशन गर्ने गरेका छन् । पात्रो अनुरुप आफ्नो संस्थाको छुट्टै विदा वा कार्यक्रमहरु राखेर भित्तेपात्रो बजारसम्म पुर्याउने परम्परा नै बनेकोछ । जसले गर्दा आधिकारिक तिथि, मिति, चाड पर्वलगायतमा दोहोरोपन आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस्तै समस्याहरु नहुन दिनका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भित्तेपात्रो स्वीकृत गरेपछि मात्र प्रकाशन गर्नका लागि सबैमा अनुरोध गरेको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश बमोजिम विसं २०८० का लागि हालसम्म ८ सय ४ ओटा भित्तेपात्रोले स्वीकृति पाएको र अहिले पनि केही भित्तेपात्रो प्रकाशन गर्ने संस्था स्वीकृति लिने क्रममा रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
सरकारले जारी गरेको समितिको गठन आदेश विसं २०७८ असार महिनामा नेपाल राजपत्रमा प्रकाशन भएको र सो बमोजिम विसं २०७९ देखि समितिसँग स्वीकृति लिएर भित्तेपात्रो प्रकाशन हुन थालेको हो । गत वर्ष करिब एक हजार भित्तेपात्रो स्वीकृति लिएर प्रकाशन गरिएको थियो ।
समितिको स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही प्रक्रिया पनि अघि बढाइएको ढुङ्गेलको भनाइ छ । स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोको अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयसहित सरोकार भएका निकायका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।
उक्त समितिअन्तर्गत पञ्चाङ्गकार मुरारीराज पाण्डेको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको र सो समितिमा संस्कृति र गृह मन्त्रालयका शाखा अधिकृत पनि सदस्य रहेका छन् । समिति र उप समितिले अनुगमन गरी स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही गर्न लागेको हो । समितिले आजैदेखि अनुगमन सुरु गरेको जनाइएको छ । समितिले अनलाइनबाटै भित्तेपात्रो प्रकाशनका लागि फारम भरेर स्वीकृति लिन सक्ने व्यवस्था पनि गरेको छ ।