साझा कथा । नेपालका धेरै ठाउँ छन् जहाँ नजिकै नदी बग्छन्, नजिकैबाट खोला बग्छन् तर छेउका बस्ती र जग्गा सधैँ सुख्खा हुन्छन् । सिँचाइ व्यवस्थाको अभावमा ती गाउँहरु बर्षौदेखि नजिकको खोला वा नदीमा बग्ने पानी हेरेर दिन विताउँछन् । तर त्यहाँको पानी भान्सा, बारी वा गोठसम्म पुर्याउन मुस्किल छ ।
दाङमा पनि यस्तै ठाउँ छ जहाँ गाउँको तीन तर्फ खोला छन् । खोलामा पानी पनि प्रशस्त छ । तर त्यही खोला बीचमा रहेको गाउँ सुख्खा छ । दाङको गढवा गाउँपालिका वडा नं ७ चन्दनपुको गाउँको पूर्वमा मानपुर खोला, पश्चिममा गुरुङ्ग खोला र उत्तरमा राप्ती नदी बगेको छ । खोला र नदीमा बगेको पानी हेरेर चित्त बुझाउनु बाहेक अरु विकल्प छैन् । गाउँ सिंचाइ नहुँदा सुख्खा छ ।
गढवा गाउँपालिका–७ चन्दनपुर निवासी जानकी चौधरीलाई खेतीपातीको समय नजिक आउँदा सिंचाइ असुविधाकै कारण चिन्ता शुरु हुन्छ । गाउँमा सिंचाइको सुविधा छैन । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएपछि जानकीलाई वर्षामा पनि खेती गर्न समस्या पर्छ । जानकी भन्छिन्, ‘खेतीको समय आउँदा गाउँमा खुसी होइन, दुःखले घेर्छ, आकाशे पानीको भर पर्दा कहिले आधा खेती हुन्छ । कहिले खेती नै गर्न सकिँदैन ।’
चन्दनपुर गाउँमा सतह सिंचाइको समस्या छ । सिंचाइ समस्या समाधान गर्न भूमिगत पानीको लागि बोरिङ्ग धसिएको भए पनि विद्युत नियमित नहुँदा र भोल्टेच कम हुँदा सिंचाइ राम्रोसँग हुन सक्दैन, स्थानीयहरु नियमित विद्युत नहुँदा बोरिङबाट पनि दिक्क छन् । स्थानीय सरोज चौधरीले बोरिङ्ग भए पनि पानी नै नतान्ने समस्या रहेको बताए । उक्त गाउँमा एक सय ६५ वटा बोरिङ्ग भए पनि सिंचाइ सुविधा प्रभावकारी हुन सकेको छैन ।
राप्ती नदीको पानी सिंचाइ गर्ने उद्देश्यले दश वर्ष अघिबाट वड्कापथ सिंचाइ आयोजना लागु भएको छ । यो आयोजनाको पानी चन्दनपुर गाउँसम्म ल्याउन समुदायस्तरबाट पहल भए पनि अहिले आयोजनाको स्टिमेटमा चन्दनपुरसम्म पानी ल्याउने योजना छैन । गाउँलेहरुले सतह सिंचाइको पहल गरिरहेका छन् । स्थानीय अगुवा उमाकान्त डाँगीले २०२४ साल सम्म चन्दनपुर गाउँमा कुलोबाट सिंचाइ गरेको जानकारी दिए ।
‘पुरानो सिंचाइको संरचना नासियो । अहिलेसम्म सुख्खा नै छ, जमिनमुनीको पानीले सिंचाइ गर्न लगानी बढी लाग्ने भयो । त्यसमा पनि गाह्रो छ । चन्दनपुर गाउँको एक हजार दुई सय विगाह जमिन आकाशेपानी र भूमिगत पानीको भरमा छ ।
तस्बिरः दिवाकर पोख्रेल