किन धुम्म हुन्छ र कहिले खुल्छ काठमाडौं ?

साझा कथा । आदिकवी भानुभक्तले कुनै समय भन्ने गरेको अमरावति कान्तिपुरी नगरी अहिले धुलो नगरी भएको छ । यहाँ धुलो र धुँवाको साम्राज्य छ । चलचित्र लुटमा हाकु कालेले भने जस्तो रहरको सहर पनि छैन काठमाडौं । कोलाहल र कुरुपताले भरिपूर्ण काठमाडौं वास्तवमै उकुसमुकुस हुने खालको छ ।

तपाइहरुले महशुस गरिरहनु भएको छ होला, अहिले काठमाडौं उपत्यकामा हिड्दा घुम्दा आँखा पिरो भइरहेको छ । टाउको पनि दुख्न थालेको छ । निलो हुनुपर्ने आकाश सेताम्मे र धुम्म छ । सामान्य अवस्थामा काठमाडौंका धेरै स्थानबाट देखिने हिमाल त परको कुरा नजिकैका पहाड समेत छोपिएका छन् । कुहिरोजस्तै प्रदुषित वायुले काठमाडौं घेरा हालेको छ । सास फेर्नै मुस्किल छ ।

अहिलेको यो अवस्था नयाँ भने होइन । विशेषगरी हरेक बर्ष चैत–बैशाखको समयमा काठमाडौंले यस्तो उकुसमुकुसको अवस्था भोग्दै आइरहेको छ । दशकौँदेखि काठमाडौं निर्माणकै चरणमा छ । कहिल्यै नसकिने विकासका काम चलिरहेका छन् । भएका सडकमा पीच उप्किएका छन्, कतै पीच नै छैन, सडक सफा छैन । परिणाम काठमाडौंको वायुमण्डल धुलोले भरिएको छ ।

स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार चैत्र ३० गतेदेखि काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको हो । बैशाख २ गते त प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमै थियो । काठमाडौंमा वायु प्रदूषण अचानक बढेको भने होइन र प्रदूषणका कणहरू एक दुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् । काठमाडौंको हावामा जंगलमा लागेको डढेलोको धुँवा पनि मिसिइरहेको छ । गत बिहीबार धुँवाको मात्रा अलि धेरै बाक्लिएको मात्र हो । विज्ञहरुका अनुसार काठमाडौं धुम्म हुनुमा डढेलोबाट सिर्जित धुँवाको ५० प्रतिशत मात्रै योगदान छ । बाँकी काठमाडौंमै सिर्जित धुँवा र धुलो नै हो ।

चैत बैशाखको समयमा चुरे पहाडमा लाग्ने डढेलोको धुँवा वागमति करिडोर हुँदै काठमाडौंसम्म आउँछ । खासगरी चितवन, बारा र पर्साको जंगलमा लाग्ने डढेलोको धुँवा काठमाडौं आउने गरेको छ । केहि प्रतिशत भने भारतबाट आउँछ । यहाँभित्रको धुँवा र धुलोमा तराइबाट आएको धुँवा समेत मिसिँदा समस्या थपिने गरेको छ । कचौरा आकारमा रहेको काठमाडौंको चारैतिर अग्ला अग्ला पहाड भएको हुनाले धुलो र धुँवा उडेर जान समय लाग्छ । अनि धुम्म हुन्छ काठमाडौंको आकाश ।

धुम्म परेको काठमाडौंको आकाश खुल्न कि पानी पर्नुपर्छ कि त ठूलो हावाहुरी चल्नुपर्छ । यी दुबै नभए केही हप्ताको बीचमा विस्तारै धुँवा र धुलो मिश्रित हावा बाहिर जाने छ, अनि फेरि सफा हुनेछ काठमाडौं । अर्को बर्ष फेरि यस्तै नियति भोग्नुपर्नेछ । बढ्दो वायु प्रदूषणको समाधानमा कम्तिमा पनि २० बर्षअघिदेखि सरकार लाग्नुपर्ने थियो तर तत्परता देखाएको छैन । यसका अल्पकालीन र दीर्घकालीन उपाय नखोजे भविष्यमा भयावह अवस्था आउन सक्छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?