कलंकी–बल्खु सडकखण्डको झमेला, अख्तियारद्वारा छानविन सुरु

साझा कथा । केहि समयअघिसम्म चिटिक्क र चिल्लो देखिएको कलंकी–बल्खु सडकखण्डको सर्भिस लेन एकाएक भत्काइएपछि विवाद चर्किदै गएको छ । चक्रपथको एक भाग सो सडकखण्डको सर्भिस लेन पुनर्निर्माण गर्ने भन्दै भत्काइएको थियो । पिच उप्काएर बनाउन सुरु गरिएको भएपनि अहिले काम ठप्प छ । सडक भत्काएर नयाँ बनाउने काममा अनियमितता भएको शङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन समेत सुरु गरेको छ ।

काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेका अनुसार कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १.७ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएपछि कालोपत्रे उप्काएर पुनः बनाउन सुरु भएको थियो । चक्रपथ सुधार आयोजनाबाट सो सडक यसअघि नै हस्तान्तरण भइसकेको हुनाले सडक डिभिजन कार्यालयले काम अघि बढाएको थियो ।

सर्भिस लेनमा कुनै पनि समस्या नआएको, सडकमा खाल्टाखुल्टी नपरेको र चक्रपथको अरू भागमा जस्तै सो सर्भिस लेनमा पनि सवारीसाधन आवतजावतमा कुनै अवरोध नहुँदा नहुँदै बिनाकारण कालोपत्रे उप्काएर पुनर्निर्माणको काम अगाडि बढाइएको पाइएको थियो । चीन सरकारको अनुदानमा निर्माण भएको चक्रपथको सो सर्भिस लेन काम नलाग्ने भएको भन्दै ऋण लिएर बनाउन थालिएको थियो ।

चीन सरकारको अनुदान सहयोगमा विस्तार भएको चक्रपथको सो खण्डको पुनस्र्थापनाका लागि अहिले विश्व बैङ्कको ऋण सहयोगबाट सुरु गरिएको हो । सो सडकखण्डको पुनस्र्थापनाका लागि तीन करोड रुपियाँमा ठेक्का लगाई काम सुरु भएको थियो । वल्र्डवाइड पीआर एसके (संयुक्त) ले उक्त ठेक्का पाएको छ ।

निर्माण सम्पन्न भई २०७५ सालमै हस्तान्तरण भएको उक्त सडकखण्ड अहिले आएर काम नलाग्ने भएको भन्दै रातारात भत्काइएपछि अनियमितताको आशंका गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?