साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै कार्यकालमा शिलान्यास भएको काठमाडौँ–तराई द्रुतमार्ग आफैँले उद्घाटन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज काठमाडौँ–तराई द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ स्थित क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री प्रचण्डले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमले निर्माण कार्यमा केही ढिलाइ हुन गएको भए पनि प्रगति विवरण सन्तोषजनक नै रहेको बताउँदै उक्त निर्माणको कामले अब तीव्रता पाउने बताए ।
उनले द्रुतमार्गका निम्ति आवश्यक पर्ने ऐलानी जग्गा र अन्य विभिन्न विषयमाथि सहजता प्रदान गर्न आफू सधैं लागि पर्ने पनि बताए । प्रधानमन्त्री दाहालले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानको कदरस्वरुप नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको स्मरण गर्दै काम छिटै सम्पन्न हुनेमा विश्वाससमेत व्यक्ति गरे ।
सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, बागमती प्रदेशका मन्त्रीहरु र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारी सहभागी थिए ।