गाउँघर पनि प्रदूषणको चपेटामा

साझा कथा । वसन्त ऋतुको सौन्दर्यमा रमाउन र मधेशको गर्मी छल्न १४ जना साथीसहित म्याग्दीको पुनहिल पुगेका नवलपुर अमरापुरीका सुन्दर सापकोटाले न हिमाल हेर्न पाए न त वनैभरि फूलेका विभिन्न प्रजातिका लालीगुराँस हेर्दै रमाउन ।

घोडेपानी, पुनहिललगायत म्याग्दीका पर्यटकीयस्थलको भ्रमणका लागि एक साताको बिदा लिएर म्याग्दी आउनुभएका सापकोटा र उनका साथीले प्रकृतिको दृश्यावलोकन गर्न त पाएनन् नै आँखा र टाउको दुख्ने, आँखाबाट आँशु र नाकबाट पानी बग्ने शारीरिक समस्याले समेत ग्रस्त भए ।

म्याग्दीका ग्रामीण क्षेत्रमासमेत तुवाँलोले प्रदूषण बढाएपछि वसन्तको मौसममा ग्रामीण क्षेत्रमा पुगेका पर्यटक र स्थानीयवासीको दैनिकीसमेत प्रभावित बनेको छ । वायुप्रदूषण र मौसम परिवर्तनका कारण आँखा र नाक पोल्ने, घाँटी दुख्ने, रुघा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन थालेपछि हिउँदेबाली थन्काउने, मकै गोड्ने लगायतका काम छोडेर स्थानीय बासिन्दा स्वास्थ्य संस्था धाउन थालेका छन् । म्याग्दीका पर्यटकीयस्थलमा घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटक पनि बसाइँ छोट्याएर फर्किन थालेका पर्यटन व्यवसायीले बताएका छन् ।

मङ्गलबार म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा घुम्न आउनुभएका बागलुङ रामरेखाका सतिश घर्तीले तुवाँलोका कारण बेलढुङ्गाबाट नजिकको स्वर्गाश्रम, म्याग्दी नदी, हिमाल र बेनी बजारको दृश्यसमेत देख्न नपाएको बताए । “प्रदूषण सहरमा मात्रै होइन ग्रामीण क्षेत्र र वन जङ्गलमासमेत फैलिइसकेछ, हिमाल पनि प्रदूषणले ढाकिदिएछ , प्रकृति पनि तुवाँलोले छेकिदिएछ”, घर्तीले भने ।

आकाश तुवाँलोले भरिएपछि घाम पनि छेकिएको छ । करिब एक किलोमिटरको दूरीका गाउँसमेत देख्न मुस्किल छ । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइमा रहेको बेलढुङ्गाबाट विगत एक सातायता न हिमाल देख्न पाइएको छ न प्राकृतिक सौन्दर्य नै । म्याग्दी र छिमेकी जिल्ला पर्वत तथा बागलुङका विभिन्न ठाउँमा लागेको डढेलोका कारण जिल्लाका ग्रामीण बस्तीसमेत प्रदूषणको चपेटामा परेका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।
डिभिजन वन कार्यालय म्याग्दीका अनुसार वन जङ्गलमा लागेको डढेलोबाट निक्लेको धुवाँले सदरमुकाम बेनीसहित जिल्लाका ग्रामीण भेगमासमेत प्रदूषण बढेको छ । बेनी नगरपालिका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा आइतबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आइसकेको भए पनि निक्लेको धुँवाले भने वरपरका बस्ती अझै छोपेको छ । वनभित्र ढलेका ठूला रुखका मुढा, रुखमा सल्केको आगो भने अझै देखिन्छ ।

यो पढ्नु भयो ?