साझा कथा । सिंहदरबार भित्र दैनिक संकलन हुने फोहोर ११ औं दिनमा पनि उठेको छैन । फोहोर उठाउनको लागि काठमाडौं महानगरपालिकालाई संघीय सरकारले पटकपटक आग्रह गर्दा पनि महानगरपालिकाका प्रमुख बालेन शाहले नमानेपछि सिंहदरबारको फोहोर उठ्न नसकेको हो ।
सिंहदरबारको फोहोर व्यवस्थापनमा जटिलता थपिएपछि समस्या समाधानका लागि सहरी विकास मन्त्रालयले पटकपटक छलफल गरेपनि निचोड निकाल्न भने सकेको छैन । फोहोर उठाउने जिम्मा पाएको परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले छलफल भए पनि निश्कर्षमा नपुगेको बताए ।
सिंहदरबारसहित राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट समेत काठमाडौं महानगरले फोहोर उठाएको छैन। सरकारले वार्तामा नबोलाएसम्म फोहोर नउठाउने मेयर बालेन शाहले अडान लिएका छन् ।
सिंहदरबारका विभिन्न मन्त्रालय र क्यान्टिनबाट संकलन गरिएका फोहोर रेडियो नेपालसँगै रहेको टहरामा थुपारिएको छ । थुप्रिएको फोहोर छुट्याएर तीन तरिकाले व्यवस्थापन गर्न थालिएको छ। पुनः प्रयोग गर्न मिल्ने फोहोर कबाडीमा बेच्ने गरिएको छ भने केही मात्रामा जनावरका लागि चाराका रूपमा प्रयोग गर्न मिल्ने कुहिने फोहोर फार्महरूमा पठाइको र जैविक फोहोर नजिकै भएको खाल्डोमा पुर्ने गरिएको बताइएको छ । सिंहदरबारबाट मात्रै दैनिक करीब ५ टन फोहोर जम्मा हुने गरेको छ ।