अन्नपूर्ण हिमाल आरोहणमा बढ्दो दुर्घटना, केही आरोहीको उद्धार केहीको मृत्यु

साझा कथा । केही दिनको अन्तरालमै म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणमा गएका आरोहीहरु फरकफरक दुर्घटनामा परेका छन् । जसमध्ये दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ ।

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । “हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ”, उनले भने । परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए ।

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीया बलजीत कौरको पनि जीवितै उद्धार गरिएको थियो । काठमाडौं लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ । अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मङ्गलबार मृत्यु भएको थियो । उनी सेभेन समिट टे«कबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच समुहका ४५ जनाले अनुमति लिएका थिए । बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?