साझा कथा । नेपालमा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र ओमानबीच खेल जारी छ । सुरुवाति व्याटिङ गरेको नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । कुशल मल्लले शतकीय इनिङ्स खेलेपछि कपको दोस्रो खेलमा नेपालले ओमानलाई तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो । यो लक्ष्य दिनका लागि कुशल मल्लले एक सय आठ रन जोडे ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनायो । दुई ओपनर कुशल भुर्तेल र आशिष शेख लय विगारेका थिए । तर, कुशल मल्लले एक सय आठ रनको शतकीय इनिङ्स खेले । उनले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोडेका हुन् ।
यससँगै कुशलले नेपालबाट एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । अन्तर्राष्ट्रिय खेलमा मल्लको पहिलो शतक हो ।
उनी समग्रमा एकदिवसीयमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी हुन् । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हानेका थिए । यस्तै सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेले । कामीले ४८ बलमा नौ चौकाको सहयोगमा ६३ रन जोडे ।
भिम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाए । सन्दीप लामिछाने आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट भए ।
बलिङमा ओमानका आयन खानले दुई विकेट लिँदा विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले एक/एक विकेट लिए । प्रिमियर कपको उपाधि चुम्ने लक्ष्य लिएको नेपाल बलियो ओमानसँग जित निकाल्ने अभियानमा छ । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यता ओमान पनि नेपाललाई हराएर लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।
यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । दोस्रो जितको खोजीमा रहेको ओमान नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई टोलीबीच यसअघि ६ वटा एक दिवसीय खेल भएका छन् ।
ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल पनि हो । आजको खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेका लागि पनि विशेष महत्त्व रहेको छ । आजको खेलमा विकट लिएमा सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाउनेछन् । सन्दीप यस कीर्तिमानबाट एक विकेटमात्र टाढा छन् ।
उनले ४१ एक दिवसीय खेल्दै ९९ विकेट लिएका छन् ।
प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।