उपनिर्वाचनको तयारी तीव्र – सवारी साधन चल्छन् ?

साझा कथा । प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु भएको छ । मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सिसिटिभी जडान गर्न थालिएको छ । सँगै १० गतेको लागि सवारी आवतजावतका लागि पनि विकल्पहरुमा छलफल चलिरहेको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वतावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आजदेखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक रहनुभएको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहेका छन् ।

तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका लागि उक्त दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ । मुख्य राजमार्गको रुपमा रहेको उक्त खण्डअन्तर्गत मुग्लिनदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको हो ।

सो दिन उपनिर्वाचन हुने क्षेत्रअन्तर्गतका ठाउँमा भने यात्रु झर्न वा चढ्न नपाउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । मुग्लिनबाट पोखरातर्फ जान आउने सवारीसाधन वा चापाघाटतर्फ मुग्लिनतर्फ जाने सवारी साधनलाई डेढ घण्टाको फरकमा स्कर्टिङ गरिने उनले बताए ।

उपनिर्वाचनका दिन आइतबार तनहुँ क्षेत्र नं १ अन्तर्गतका पाँच स्थानीय तहका भित्री सडक भने पूर्णरुपमा बन्द हुनेछ । “अत्यावश्यक काम नपरी उक्त दिन यात्रा नगर्न सबैलाई आग्रह गर्दछु, काम परे वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ,” उनले भने, “मुख्य राजमार्गमा प्रहरी स्कर्टिङ हुने भएकाले बीचमा चढ्ने वा झर्न पाइँदैन ।” निर्वाचनको संवेदनशीलतामा ध्यानमा राखेर यात्रा गर्ने यात्रुहरु तनहुँ क्षेत्र नं १ अन्तर्गतका व्यास, आँबुखैरेनी, भानु, बन्दीपुर र देवघाट क्षेत्रमा झर्न पाउँदैनन् ।

उपनिर्वाचनका दिन अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दूध बोक्ने ट्याङ्कर, फोहर बोक्ने सवारी साधन, स्वास्थ्य संस्थाका सवारी साधनलाई भने निर्वाधरुपमा सञ्चालन गर्न दिइनेछ ।

मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनका दिन पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा रहनेछ । उपनिर्वाचनका दिन हावाहुरी र पानी परेको खण्डमा मतपत्र र मतपेटिका सुरक्षाका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको उनले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?