नेपालमा नेतैपिच्छे कम्युनिष्ट पार्टी, सिद्धान्त छोडेर अर्थोक गर्नमै व्यस्त

साझा कथा । आज (शनिबार) नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा नेपालका कम्युनिस्ट पार्टीहरूले शनिबार विविध कार्यक्रम आयोजना गर्दै छन् । तर नेतैपिच्छे कम्युनिष्ट पार्टी रहेकोले यसको रौनक भने छैन । नेपालमा कम्युनिष्ट विचारधारासँग नजिक रहेका जनताको संख्या धेरै भएपनि कम्युनिस्ट पार्टीका लागि हालसम्मको यात्रा भने खासै सुखद रहेको छैन ।

विक्रम संवत् २००६ मा भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएर कम्युनिष्ट पार्टी स्थापनामा अग्रसरता लिएका थिए । त्यसअघि २००५ चैत २३ गते उहाँले ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी २००६ वैशाखमा भारतकै कोलकातामा नेकपाको स्थापना भएको भए पनि भदौ ३० गते मात्रै औपचारिक जानकारी गराइएको थियो ।

२००६ मा पुष्पलाल श्रेष्ठलगायतले स्थापना गरेको कम्युनिस्ट पार्टीमा फुटको शङ्खला अझै पनि रोकिएको छैन । टुटफुटले कम्युनिस्ट पार्टीलाई मात्रै नभएर सिङ्गो आन्दोलनलाई पछि पारिरहेको कम्युनिस्ट आन्दोलनमा लागेका ज्येष्ठ कम्युनिस्ट नेताहरूको दाबी छ । पाका कम्युनिस्ट नेताहरू नेपालमा कतिवटा कम्युनिस्ट पार्टी छन् भन्ने सङ्ख्या यकिन नरहेको दाबी गर्ने गरेका छन् ।

स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिस्ट पार्टी त्यसयता एकीकरण र मातृपार्टी कम्युनिस्ट विचारधाराबाट विचलित भएको भन्दै फुटको शृङ्खला चल्दै आएको छ । टुटफुटको श्रृंखलामै रमाएका नेपालका कम्युनिष्टहरुले पार्टी सिद्धान्त, कम्युनिष्ट मार्गदर्शन, जनतासँग जोडिनुपर्ने उत्पादनका काम बाहेक अरु काम गर्ने आरोप लाग्दै आएको छ । खासगरी सत्तामा रमाउने प्रवृत्ति र राजनीतिलाई कमाइखाने भाँडो बनाउने प्रयासका कारण कम्युनिष्ट आन्दोलन बदनाम भएको छ भने कम्युनिष्ट नेताहरुप्रति मानिसको चरम निराशा छ ।

नेकपाको संस्थापकमा पुष्पलालसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायण विलास मानिन्छ। कम्युनिस्ट पार्टीमा पहिलो पटक केशरजङ्ग रायमाझीका कारण २०१९ सालमा फुट आएको थियो। त्यसपछि टुट्ने र फुट्नेक्रम अहिलेसम्म रोकिएको छैन। कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियान समय–समयमा गरिएका पनि छन् । मिल्ने अनि केही समयपछि फुट्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै धराशयी पारेको छ । खासगरी व्यक्तिगत महत्वाकांक्षा, नेतृत्वमा बस्न चाहने उत्कट चाहना, सत्तालाई हेर्ने दृष्टिकोण र जुंगाको लडाईँका कारण पार्टीहरु फुट्ने गरेका छन् । निर्वाचन आयोगमा कम्युनिस्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन्।

२०३६ सालसम्म हातमै गन्न सकिने कम्युनिस्ट पार्टी भए पनि अहिले यसको सङ्ख्या यकिन छैन । सानो कुरा नमिल्नेबित्तिकै नयाँ पार्टी खोल्ने र नयाँ पार्टी खोल्ने नेतृत्वले आफू सही छु भनेर देखाउन जनतालाई दिग्भ्रमित बनाउने विषयले कम्युनिस्ट पार्टीको सङ्ख्या बढिरहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?