साझा कथा । प्रतिनिधिसभा सदस्यका लागि आइतबार बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार करिब ६० प्रतिशत मत खसेको छ । जसअनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएको छ । यसअघि मंसिर ४ गतेकाे निर्वाचनभन्दा तुलनात्मक रूपमा कम मत खसेकाे छ ।
तिनवटै जिल्लामा प्रचण्ड गर्मीका कारण मतदान कम भएको विश्लेषण गरिएको छ । बैशाखको धुपमा मतदानस्थलसम्म जानका लागि मतदाताबाट देखाइएको अनिच्छाले चुनावको नजितामा समेत असर गर्न सक्छ । यसका साथै यसपालीको उपचुनाव यसअघि भन्दा बढी आक्रामक र तडकभडकयुक्त भएका कारण पनि जनमानसमा डर पैदा भएको हुनसक्छ । यस उपचुनावलाई प्रमुख दलहरुले असाध्यै धेरै महत्व दिएका थिए भने पार्टीको प्रतिष्ठासँग जोडेर प्रचारप्रसार गरेका थिए ।
अहिले मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुवानी भइरहेको निर्वाचन आयोगले जनाएको छ । तीन वटै निर्वाचन क्षेत्रको मत गणना आजै रातिदेखि सुरु हुने जनाइएको छ ।
बारा २ का मतपेटिका मतगणना स्थल शिक्षा तालिम केन्द्र कलैया, चितवन २ का मतपेटिका मतगणना स्थल उद्योग वाणिज्य संघको हल भरतपुर र तनहुँ १ को मतपेटिका मतगणना स्थल जिल्ला समन्वय समिति परिसर दमौलीमा राखिँदै छ ।
सबै मतपेटिका मतगणना स्थलमा आएसँगै लगत्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम आगामी १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ ।