उपनिर्वाचन अपडेटः अहिलेसम्म को अगाडि, कसको सम्भावना कति ?

साझा कथा । बैशाख १० गते भएको उपनिर्वाचनको मतगणना चलिरहँदा कुन उम्मेदवार विजयी होला भन्ने कौतुहलता व्याप्त छ । बारा २, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचनमा नयाँ पार्टीहरुप्रति जनताको क्रेज बढी देखिएको छ ।

बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिइरहेका छन् । मतगणनाको सुरुवातमा जनता समाजवादी पार्टीका अध्यक्ष तथा उम्मेदवार उपेन्द्र यादवले सामान्य अग्रता लिएपनि अपरान्हपछि कुशवाहा अगाडि आए ।

यसअघि सप्तरी २ बाट निर्वाचन हारिसकेका यादवका लागि यो उपनिर्वाचन प्रतिष्ठाको भीडन्त थियो । यसअघि माओवादीमा रहेका कुशवाहालाई जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीमा भित्र्याएर उम्मेदवार बनाएका थिए । उनको व्यक्तिगत लोकप्रियता र सिके राउतको बढ्दो लोकप्रियताको बीच उनले यादवलाई कडा टक्कर दिएका छन् । मतान्तरमा खासै धेरै भिन्नता नभएका कारण बारा २ मा चुनावी नतिजा कसको पक्षमा जान्छ, यसै भन्न सकिने अवस्था छैन । आफ्नै पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव (उपराष्ट्रपति) निर्वाचित भएको स्थानमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत समर्थन प्राप्त हुँदा कुशवाहाले अग्रता लिनु वा टक्कर दिनु उपेन्द्र यादवको लागि भने लाजको विषय बनेको छ ।

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । सुरुवातदेखि नै फराकिलो अन्तर बनाएका वाग्लेले आफ्ना प्रतिष्पर्धीलाई भेट्नै दिएका छैनन् । नेपाली काँग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएको स्थानमा काँग्रेस उम्मेदवार गोविन्द भट्टराई वाग्ले भन्दा धेरै पछि परेका छन् । यसअघि काठमाडौं ६ बाट पराजित एमाले नेता तथा पूर्व प्रहरी अधिकारी सर्वेन्द्र खनाल तनहुँ १ मा धेरै तल पर्ने देखिसकिएको छ । सुरुवातदेखि नै फराकिलो अग्रता लिएका कारण र सुविधाजनक मतका साथ अघि रहेका कारण वाग्ले निर्वाचित हुने सम्भावना प्रबल छ ।

उता चितवन २ मा ढिला गरी मतगणना आरम्भ भएको थियो । स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको नेपाली काँग्रेसले लामिछानेमाथि कारबाहि नहुँदासम्म मतगणना गर्न नदिएपछि मतगणना सुरु हुन सकेको थिएन । तर पछि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने र जवाफ दिने सहमति भएपछि मतगणना सुरु भएको थियो ।

चितवनको इच्छाकामना गाउँपालिकाबाट प्रारम्भ गरिएको मतगणनाको प्रारम्भिक रुझान हेर्दा लामिछानेले फराकिलो अन्तरमा जीत हासिल गर्ने देखिन्छ । किनकी यसअघि मंसिर ४ मा भएको निर्वाचनमा इच्छाकामनाबाट थोरै मत पाएका लामिछानेले अहिले अग्रता लिनेगरी मत बढाएका छन् । सहरी इलाकामा लामिछाने पक्षधर धेरै मतदाता रहेको हुनाले उनले आफ्ना प्रतिष्पर्धी काँग्रेसका जीतनारायण श्रेष्ठ र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेलाई धेरै पछि पार्ने विश्लेषण गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?