साझा कथा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे लगत्तै आगलागी भएको फ्लाई दुबईको विमान सकुशल दुबईमा अवतरण गरिएको छ ।
सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सहित आकासमै लामो समय होल्ड भएको विमान अन्ततः सकुशल अवतरण गरेको हो । विमानमा चरा ठोकिएर आगलागी भएको फ्लाई दुबईले बताएको छ ।
असामान्य अवस्थाको विमान आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि टावरले पनि अनुमति दिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा भने सबै खालका सुरक्षाका आवश्यक तयारी गरिएको थियो ।
विमान राति ९ः२० मा उडेको थियो भने १२ः१० अवतरण गरिएको थियो । विमानमा १६९ जना यात्रु थिए । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेको थिए ।