फ्लाई दुबईको विमानमा ठोकिएको भनिएको चरा केहि दिन अघि नै मरेको थियो..

साझा कथा । सोमबार राति फ्लाई दुबईको विमानमा उड्ने वित्तिकै आगोको लप्का देखियो । इन्जिनमा आगोसहितको विष्फोटक आवाज समेत सुनेका काठमाडौंबासीहरुमा त्रास छायो । लगत्तै विमानले काठमाडौंमा दुई फन्का लगायो, धादिङको धार्के पुगेर फेरि काठमाडौंतर्फ आयो र तराई हुँदै पश्चिम दाङबाट भारत हुँदै दुबई पुगेर अवतरण भयो । तर विमान दुबईको विमानस्थलमा अवतरण नहुँदै चरा ठोक्किएका कारण सो जहाजमा आगो लागेको तर समस्या गम्भीर नभएको विभिन्न समाचारहरु प्रकाशित भइसकेको थियो ।

चरा ठोकिएको भनेर खबर प्रकाशन तथा प्रसारण गर्ने निकाय अरु कोहि नभएर फ्लाई दुबईको नेपाल शाखा थियो । लगत्तै नेपाली अधिकारीहरुले विमानस्थलमा जहाजसँग ठोक्किएको चरा खोज्न थाले । मरेको एउटा चरा त भेटियो तर त्यो केहि दिन अघि नै मरेको देखियो । नेपाली अधिकारीहरु अझै पनि खासमा समस्या के थियो भन्ने विषयमा निजोडमा पुगिसकेका छैनन् । फ्लाई दुबईलाई समस्याबारे छिटो निश्कर्षमा पुग्न निर्देशन समेत दिइएको छ । तर विमानमा चरा ठोक्किएको भनेर सार्वजनिक गर्ने फ्लाई दुबईका नेपाल प्रबन्धकमाथि कारबाहि भने गरिएको छ ।

विना प्रमाण त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा उडानको क्रममा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नागरिक उड्डयन प्राधिकरणले नेपाल प्रबन्धक लगायत फ्लाई दुबईका विमानस्थल प्रबन्धकलाई समेत कारबाहि गरेको छ । उनीहरुको एयरपोर्टभित्र जाने पास समेत निष्क्रिय बनाइएको प्राधिकरणले जनाएको छ । मंगलबार विहान चरा ठोकिएर विमानमा आगो लागेको समाचारहरु प्रकाशित भएपछि पर्यटनमन्त्री सुदन किराँतीले समेत चरा ठोकिएको प्रमाण नरहेको स्पष्टिकरण दिएका थिए ।

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?