साझा कथा । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा नवनिर्मित जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भारी मतान्तरले हारेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदमा ‘कमब्याक’ गरेका छन् । संसद छिर्ने उत्कट चाहनाकै कारण उनले पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन एमालेसँग दुरी बढाएर गठबन्धन रोजेका थिए । एमालेसँगको तालमेलबाट विजयी भएका यादव उपराष्ट्रपति बन्नका लागि काँग्रेस, माओवादी र एकीकृत समाजवादीको साथ चाहिन्थ्यो । यादवलाई उपराष्ट्रपति बनाउन पाए पार्टीको राम्रै पकड रहेको क्षेत्र बारा २ मा आफू पुनः निर्वाचन लड्न सकिने विश्लेषण गर्दै उपेन्द्र गठबन्धन छिरेका थिए ।
योजना अनुसार नै पार्टीका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति मात्रै भएनन्, आफू समेत संसदमा पुनः प्रवेश गर्न सफल भए । पराजित भएको ५ महिनामै भएको उपनिर्वाचनलाई उनले गठबन्धनको साहारामा मज्जाले उपयोग गरे । उनलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीले समेत समर्थन गरेका थिए ।
मंगलबार राति अबेर सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट यादव विजयी भए । उनले २८ हजार ४१५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे। कुशवाहाले त्यस क्षेत्रमा निर्वाचन जित्ने अड्कलबाजी थियो । तर बाजी यादवले मारे ।
तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार ८२९ मतका साथ चौथो स्थानमा रहे । एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको थियो ।
वैशाख १० गते भएको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यादव विजयी हुने एक्लो उम्मेदवार हुन् । तनहुँ १ र चितवन २ मा स्वतन्त्र पार्टीका उम्मेदवारहरु क्रमशः स्वर्णिम वाग्ले र रवि लामिछाने विजयी भए । त्यहाँ गठबन्धनका उम्मेदवारलाई अपेक्षित मत आएन । तर गठबन्धनमा सामेल भएपछि पार्टीको नेतालाई उपराष्ट्रपति र आफूलाई पुनः संसद प्रवेश गराएर यादवले भने दुबै हातमा लड्डु समाएका छन् ।
देशको दोस्रो सर्वोच्च पदमा आफू निकट व्यक्तिलाई पदासिन गराउँदा संसदमा उनको पार्टीको सिट संख्या पनि घट्न पाएन । २०६४ सालको मधेस विद्रोहपछि ‘लाइमलाइट’मा आएर मधेसमा प्रभाव जमाइरहेका यादवको प्रभुत्व सिके राउतले खोस्न खोजेका थिए । उपचुनावमा पनि यादव हारेको भए मधेसको प्रभाव राउतको हातमा जाने थियो तर राउत तत्काल सफल हुन सकेनन् । अब उपेन्द्रको ध्यान उपप्रधानसहित एउटा राम्रो मन्त्रालय लिनेतिर गएको मधेस जानकारहरुको दाबी छ ।