श्रम स्वीकृति अब स्थानीय तहबाटै, पैसा र समय बचत

साझा कथा । सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा गएको छ । यो व्यवस्था मोरङका विभिन्न गाउँपालिका र नगरपालिकाले कार्यान्वयनमा ल्याएका छन् । सुरुवातमा मोरङको मिक्लाजुङ गाउँपालिकाले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ । यसका लागि अब विराटनगर र काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

मिक्लाजुङ गाउँपालिकामा श्रम स्वीकृति लिने पहिलो सेवाग्राही वडा नं ७ का केशव सिग्देल बनेका छन् । श्रम स्वीकृति स्थानीय तहबाट पाएपछि उनमा खुशीको सीमा छैन । खुसी व्यक्त गर्दै उनले भने, “यसअघि काठमाडौँ र विराटगर गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो । अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज भएको छ ।”

मिक्लाजुङले वैदेशिक रोजगारीका लागि जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि प्रारम्भ गर्ने सूचना २०७९ चैत २९ गते प्रकाशन गरेको थियो ।

यसैगरी उर्लाबारी नगरपालिकाले पनि श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरेले बताए । नगरपालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि दिन थालेको हो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?