नेपालका थुप्रै योग्य व्यक्तिहरु र विषयविज्ञहरु आफ्नै जीवन बनाउन व्यस्त छन् । विज्ञहरुलाई हेर्ने राज्य र शासकहरुको दृष्टिकोणका कारण उनीहरु देशका लागि योगदान दिन हिच्किचाउँछन् । उनीहरुको विज्ञता पोखिन पाएको छैन नेपालमा । तर कतिपय भने यो गञ्जागोलकै बीचमा गोल हान्न तम्सिएका छन् । त्यस्तै विज्ञहरुमध्येका एक हुन् डा. स्वर्णिम वाग्ले जो आफ्नो जीवन बनाइसकेर नेपालको जीवन बनाउन राजनीतिमा आए र छोटो समयमै सांसद बनेर प्रतिनिधिसभा छिर्दैछन् ।
उनकै भनाइ पत्याउने हो भने, देश बनाउने हुटहुटी उनमा एसएलसी दिए लगत्तैबाट सुरु भएको थियो । तर यो बीचमा पहिला उनी आफू बने, विश्वका उत्कृष्ठ विश्वविद्यालय पढे । देश विदेशमा ख्याति कमाए । ७० बढी मुलुक पुगे । ३ दर्जन मुलुकमा त काम नै गरे । इन्जिनियर बनेर पुल बनाउने वा डाक्टर बनेर विरामीको सेवा गर्ने मात्रै भन्दा अर्थशास्त्री भएर देशकै सेवा गर्ने अठोटका साथ उनले अर्थशास्त्र रोजेका थिए ।
२०४८ सालतिर राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. रामशरण महतलाई विदेशमा पढ्न जानका लागि छात्रवृत्ति मिलाइदिन आग्रह गर्ने स्वर्णिम वाग्ले रामशरणको आशिर्वाद विनै लण्डन पढ्न गए, अमेरिकाबाट मास्टर्स गरेका उनले पीएचडी भने अष्ट्रेलियाबाट गरे । लण्डन स्कुल अफ इकोनोमिक्समा स्नातक पढ्दै गर्दा विविसी नेपाली सेवामा समेत काम गरेका स्वर्णिमले उच्चशिक्षाका लागि कहिल्यै आफ्नो पैसा खर्च गर्नु परेन । उल्टो विभिन्न छात्रवृत्तिबाटै जोगिएको पैसाले उनले जग्गा किने, अन्तर्राष्ट्रियस्तरको राम्रै जागीरबाट घर घडेरी जोडे, आफ्नो परिवारलाई पुग्दो कमाए ।
२०३१ सालमा गोरखा बुंकोटको चापाकोटमा जन्मिएका स्वर्णिम वाग्लेको बाल्यकाल चितवनमा वित्यो । पिता नेपाली विषयका प्राध्यापक भएको हुनाले उनमा नेपाली इतिहास, साहित्य र भाषामा राम्रै दख्खल भयो । तत्कालीन युवराजद्वय दिपेन्द्र शाह र पारस शाहका सहपाठी समेत रहेका स्वर्णिम वाग्ले २०४६ सालको एसएलसीमा बोर्ड सेकेन्ड भए जुन बेला नृपेश प्रधान बोर्ड फस्ट भएका थिए । बुढानिलकण्ठ स्कुलको स्कुलिङले उनको अंग्रेजी पनि अब्बल भयो । तिक्ष्ण वुद्धि र उत्कृष्ट शिक्षाकै कारण स्वर्णिम अवसर पाएका व्यक्ति हुन् वाग्ले ।
भियतनामी श्रीमति र रसियन सासु रहेका स्वर्णिमले गोरखा र चितवनबाट ३ जना चेपाङका बालबच्चा ल्याएर राखेका छन् घरमा । उनीहरुलाई पनि आफुजस्तै पढाईमा अब्बल बनाउने सपना छ उनको ।
विश्व बैँकको जागीर छोडेर २०१४ मा नेपाल फर्किएका स्वर्णिम शुशिल कोइराला प्रधानमन्त्री हुँदा योजना आयोगको सदस्यमा नियुक्त भएका थिए । त्यसको ६ महिनापछि नेपालमा भूकम्प गयो र उनको लागि काम देखाउने ठूलो अवसर बन्यो । विपद् पश्चातको पुनस्र्थापनाका लागि उनका धेरै नीति तथा योजना लागु भए । अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न उनको ठूलो योगदान थियो । त्यसको केहि बर्षपछि उनी योजना आयोगको उपाध्यक्ष नै भए ।
जीवनमा धेरै अवसर पाउँदै आफ्नो उत्कृष्ट कार्यक्षमता देखाउँदै आएका स्वर्णिमलाई ५० बर्ष पुग्नै लाग्दा होलटाइम राजनीति गर्न मन लाग्यो । काँग्रेसबाट सांसद बन्ने सपना तुहिएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे, तनहुँ १ को लागि टिकट पाए । जीवनमा कहिल्यै असफल नभएका उनी निर्वाचनमा पनि किन असफल हुन्थे र ? सांसद भएरै छोडे ।
अब उनले देखाउनु छ, सांसदको रुपमा देशलाई कति योगदान दिन सक्छन् । बहुलवादी लोकतान्त्रिक पद्धतिभित्रै सुशासन र आर्थिक उन्नतिको राष्ट्रिय अभियानमा लागेका उनले अब लेख लेखेर, मञ्चहरुमा भाषण गरेर होइन, काम गरेर देखाउनु छ । विभिन्न अन्तर्राष्ट्रिय मन्च लगायत दर्जनौं सम्मेलनहरुमा प्रमुख वक्ता वा विज्ञका रुपमा सहभागी हुँदा विश्वका राजनेता र प्राज्ञहरुसँग फराकिलो सम्बन्ध बनाएका डा. वाग्ले आफुले आर्जेको ज्ञान, अनुभव, प्रतिष्ठा र सामाजिक पूँजी नेपालको हितका लागि कति उपयोग गर्छन्, हेर्न बाँकी छ ।
यो सत्य हो, शासकीय अहंकारका कारण थिंक ट्याङ्कलाई नेपालमा हेला गरिन्छ र राजनैतिक निर्णयकै आधारमा मुलुक चलाइन्छ । शासकीय उन्मादका कारण श्रीलंकाले भोगेको नियतिलाई रोक्न र मुलुकमा एकजना विज्ञ तथा थिंक ट्याङक सांसदले कति फरक पार्न सक्छ भनेर उनले देखाउनु छ । उनलाई हार्दिक बधाई ।।