साझा कथा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतले सामाजिक आन्दोलन सुरु गरेका छन् ।
नेपालमै एसेम्बल गरिएको यात्री मोटरसाइकलको दर्ता र लाइसेन्स लिने प्रकृया अवरुद्ध भएपछि उठान गरिएको यो सामाजिक आन्दोलन पुनको नेतृत्वमा माइतीघर मण्डलामा धर्ना दिएर सुरु गरिएको छ ।
महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरिरहेका छन् । पुनले नै यो आन्दोलनलाई “सामाजिक आन्दोलन” नामाकरण गरेका हुन् ।
संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने आफूहरूको प्रमुख माग रहेको पुनले साझा कथालाई बताए । कोषबाट अनुसन्धान गर्नेहरुलाई सहयोग गर्न सहज किसिमको ऐन कानुन बनाउनु पर्ने पनि पुनको माग छ ।
आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर जानकारी गराएका थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।