वेरोजगारीले छट्पटिएका विकले निरा पाण्डेको हत्यापछि किनेका थिए मोबाइल

साझा कथा । बैशाख ७ गते काठमाडौंको कपनस्थित सरस्वतिनगरमा भाँडा पसल गर्दै आएकी निरा पाण्डेका हत्या आरोपी विनोद विकलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएका व्यक्ति काठमाडौंको एउटा क्यासिनोमा बाउन्सरको रुपमा काम गरिसकेका झापा धुलाबारी १० घर भएका विनोद विक हुन् ।

ठमेलमा बाउन्सरको जागीर गएपछि उनी वेरोजगार भएका थिए र भौतारिँरहेका थिए । त्यही कारण उनी वैशाख सुरुदेखि भक्तपुरको लोकन्थलीस्थित साथीको कोठामा बस्दै आएका थिए । जागीर नभएपछि दैनिक जीवन चलाउन समेत अप्ठ्यारो भएपछि उनी लुटपाटमा संलग्न हुन थालेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यका अनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन् । प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक–पटक हानेर निराको हत्या गरेका थिए ।

हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका थिए । हत्यामा प्रयोग भएको चक्कु मनोहरा खोलामा फ्याकेको विकले बयान दिएका छन् । उनी वैशाख १४ गते घर गएका थिए ।

निरुबाट लुटिएको करिब एक लाख रुपैयाँ बराबरको सिक्री वैशाख १३ गते तारकेश्वरको पाथीभरा ज्वेलर्समा बेचेपछि उनले आफ्ना लागि फोन किनेका थिए । उनले १० हजारको नयाँ मोबाइल किनेका हुन् । प्रहरीका अनुसार निरुको हत्याका क्रममा रगत लागेको सर्ट लोकन्थलीस्थित साथीको घरमा भेटिएको छ ।

प्रहरीले लुटपाटको लागि निराको हत्या भएको प्रारम्भिक निश्कर्ष निकालेपनि विभिन्न कोणबाट अध्ययन जारी राखेको छ । नयाँ कुनै प्रमाण फेला परे यो हत्याकाण्डमा ट्वीस्ट समेत आउन सक्नेतर्फ प्रहरी सचेत रहेको छ ।

यो पढ्नु भयो ?