पूर्वमा यसपटक गुराँसलाई किन बैँस नआएको होला ?

साझा कथा । पूर्वी पहाड गुराँसको राजधानी हो, तर त्यहाँ यसपाली गुराँस फुलेन, गुराँसमा बैँस भरिएन । चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । तर गुराँसको बोट अहिले ठिङ्रिङ उभिएको  छ  । धेरैको मनमा एउटै जिज्ञासा छ, चैत–वैशाख ढकमक फुल्ने गुराँसलाई यस वर्ष किन बैंस नआएको होला ?

पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ । किन कि अरु रुखभन्दा त्यति भिन्नता देखिँदैन । पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन् । अनि भन्ने गर्दछन् – “यसपटक गुराँस किन फुलेन ?”

विगतको समयमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो । पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बन्थ्यो । लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दथ्र्यो । गुराँसका रुख छन् तर तिनमा फूल लागेको छैन ।

विगतका वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुहुन्छ । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने समितिले जनाएको छ ।

सिदिङवा गाउँपालिका–४ साब्लाखुकी फूलमाया लिम्बूलाई पाथीभरा दर्शनसँगै पदमार्गको दायाँबायाँ फुलेको गुराँसको आनन्द लिने पनि धोको थियो । उनका ती रङ्गीन सोच लामो समय टिक्न सकेन । उनले बाटोमा कतै गुराँस फुलेको देख्न पाएनन । “किन गुराँस फुलेन ?” लिम्बूले भने, “गुराँस फूलेको हेर्न पाइन्छ भने आइयो तर गुराँस फुलेको रहेनछ ।” त्यस्तै गुराँस हेर्नका लागि पाथीभरा आएका सप्तरीका शिव यादवको मन पनि खिन्न भयो । गुराँस तस्बिरमा मात्रै देख्नुभएका उनी भन्छन्, “ढकमक्क गुराँस फूलेको हेर्ने इच्छा पूरा भएन ।”

कञ्चनजङ्घा संरक्षण क्षेत्रका वन संरक्षक दिपेन्द्र पोखरेलको भनाई अनुसार जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको हो । यस वर्ष विगतको जस्तो असोजदेखि खासै वर्षा हुन सकेन । हिमाली भेगहरुमा हिमपात नभई हिउँ पर्ने समय गएको छ । विगतमा चाँदी जस्तै सेताम्य हुने हिमालहरु कोलो चट्टान जस्तै देखिन थालेका छन् ।

वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको हुनसक्ने बताउँछिन् । उनी भन्छिन्, “पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नु अघि पानी नपर्दा गुराँस फुल्न सकेन ।” उनका अुसार सुक्खा हुनेबित्तिकै सुक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँसको फूल फक्रिन नसकेको हुनुपर्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?