साझा कथा । विभिन्न माग राखेर माइतिघर मण्डलामा ४ दिनदेखि आन्दोलनरत वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग सरकारले ७ बुँदे सहमति गरेको छ । यो सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेको छ ।
प्रधानमन्त्रीलाई सम्बोधन गरी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष पुनले दिएको ज्ञापन पत्रअनुसार आज सात बुँदे सहमति भएको हो । सोमबार भएको वार्तामा सरकारको पक्षबाट उपप्रधानमन्त्री तथा रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।
दुई पक्षबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने सहमति भएको छ ।
यस्तै, आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने, अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानूनी एवं सँस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवाहरूलाई आवश्यक पर्ने अनुमति, लाइसेन्स, दर्ता, सञ्चालन तथा दिगोपन कायम गर्ने विषयसँग सम्बन्धित कानूनमा सुधार गरी सहजीकरण गर्ने सहमतिमा उल्लेख गरिएको छ ।