साझा कथा । आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘उज्ज्वल भविष्का लागि मिलेर काम गरौँ’ भन्ने नाराका साथ आज मे १ अर्थात श्रमिक दिवस मनाइँदै छ । नेपालसहित विश्वभरका श्रमिकले पर्वको रुपमा मनाउने दिन भएपनि आजको विशेष दिनबारे धेरै मजदुर बेखबर हुन्छन् । अधिकांश देशमा आज सार्वजनिक विदा हुन्छ, नेपालमा पनि विदा दिइएको छ तर अनौपचारिक क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरुलाई यो दिनको खास महत्व छैन । नेपालमा असंगठित क्षेत्रमा काम गर्ने हजारौँ मजदुर मात्र होइन खाडी मुलुक लगायत विश्व श्रमबजारमा श्रम गरिरहेका धेरै नेपालीका कथा उस्तै छन्, व्यथा उस्तै छन् ।
नेपालमा श्रमिकको नेतृत्व गर्ने, उनीहरुको हक अधिकार संरक्षण गर्न भन्दै खुलेका ट्रेड युनियनमा धेरै नेता फेरिए, सङ्गठन थपिए, श्रम कानुनमा धेरै विषयमा आए तर वास्तविक श्रम गरेर खाने श्रमिक पुरानै समस्यासँग जुधिरहेका छन् । यस्तैमध्येकी एक हुन् नवलपरासी भई हाल काठमाडौँको कीर्तिपुरमा बसेर काम गर्ने विनिता गुरुङ ।
दैनिक तीन घरमा काम गर्ने विनिताले तीन महिनादेखि पारिश्रमिक पाएकी छैनन् । । जाडो होस् वा गर्मी केही वास्ता नगरी बिहानदेखि राति अबेरसम्म भोकभोकै काम गर्दै आएकी गुरुङले एक ठाउँमा तीन महिनादेखि र एक ठाउँमा दुई महिनादेखि पारिश्रमिक पाएकी छैनन् ।
प्रत्येक घरमा मासिक पाँच हजारका दरले काम गर्दै आएकी उनी भन्छिन्, “न बिदा हुन्छ, महिनाभरि काम गर्यो, पैसा माग्दा मुखभरि वचन सुन्नुपर्छ, कहाँ भन्न जाने ? जहिले यस्तै समस्या हुन्छ ।” विनिता एकजना प्रतिनिधि पात्र मात्रै हुन्, उनीजस्तै घरमा काम गर्ने, कृषिमा काम गर्ने, निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको यस्तै अवस्था छ ।
श्रम सर्वेक्षण २०१७ का अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ कार्यरत भएकामा ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४४ हजार महिला छन् । ठूलो हिस्सा ४४ लाख ११ हजार जना ९ सय ६२ दशमलव २० प्रतिशत असङ्गठित क्षेत्रमा कार्यरत छन् । यसैगरी, कृषिमा १४ लाख ३४ हजार र गैरकृषिमा २९ लाख चार हजार कार्यरत छन् भने घरेलु क्षेत्रमा ७५ हजार कार्यरत छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम नयाँ युगको सुरुवात गरियो, त्यो सङ्ख्याका सबै असङ्गठित तथा स्वरोजगार श्रमिक हुन् ।
नेपाल गृह श्रमिक सङ्घका राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष देवीप्रसाद लम्सालको अनुभवमा गृह श्रमिक जहाँ काम गर्छन्, त्यही स्थानीय पालिकामा पञ्जीकरण गर्ने व्यवस्था गरेर पहिचानसहित काम गर्ने समय र न्यायोचित पारिश्रमिकको व्यवस्था हुनुपर्छ । श्रमिकको हितमा काम गर्ने भनेर खोलिएका ट्रेड युनियनका सङ्गठनहरूलाई आमश्रमिकको हितमा केन्द्रित हुनुभन्दा बढी श्रमिकका समस्यालाई ‘बार्गेनिङ’का रूपमा उपयोग गर्ने र अर्थोपार्जन तथा पद प्राप्तिको माध्यम बनाउने गरेको आरोप लाग्ने गरेको छ ।
नेकपा एमाले निकट जिफन्टमा लामो समय नेतृत्व गरेका विष्णु रिमाल अध्यक्ष केपी ओली निकट रहेर धेरै लाभका पद प्राप्त गरिसकेका छन् । उनको जीवनशैली कुनै धनाढ्य साहुमहाजनको भन्दा कम छैन । माओवादी केन्द्र निकट मजदुर संगठनमा लामो समय नेतृत्व गरेका शालिकराम जम्कट्टेल अहिले बागमति प्रदेशको मुख्यमन्त्री नै छन् । पटकपटक मन्त्री भइसकेका जम्कट्टेल मात्रै होइन अन्य पार्टीका मजदुर नेताहरुको जीवन बदलिएको छ तर उनीहरुले नेतृत्व गरेका संगठनबाट मजदुरका पक्षमा देखिने केहि काम भएको छैन । न त मजदुरहरुको जीवन फेरिएको छ ।
बागबजारमा भेटिएका रौतहटबाट काठमाडौं आएर ज्याला मजदुर गर्ने एकजना श्रमिक भन्छन्, “मजदुरको हकहितका लागि भनेर धेरै संगठन छन्, तर ती संगठन बार्गेनिङ गर्ने संस्था मात्रै हुन्, मजदुरले काम गरेवापत उचित ज्याला पाउँदैनन् तर मजदुर नेता भने धनाढ्य भइसके ।”
योगदानमा आधारित सामाजिक सुरक्षामा अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्नका लागि कार्यविधि तयार भइसकेको तर कार्यान्वयन भएको छैन । अनौपचारिक क्षेत्र धेरैतिर छरिएको र ठूलो क्षेत्र भएकाले कसरी र कुुन क्षेत्रबाट समेट्ने भन्ने विषय अन्यौलकै विषय छ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ श्रमिक दिवस मनाउन सुरु गरेको पाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता, सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ मा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने २००३ देखि सङ्गठित भएर काम गरे पनि श्रमिक दिवस खुलेर मनाउन थालेको २०४६ सालपछि हो ।