नक्कली शरणार्थी प्रकरण – अहिलेसम्म ८ जना पक्राउ, १०६ उजुरी, २३ करोड बढी असुली

साझा कथा । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ असुली प्रकरणमा ठूला नेतादेखि तिनका आफन्त र बहालवाला सचिव पक्राउ परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणमा गम्भीरताका साथ लाग्न प्रहरीलाई हौसला दिइरहेका छन् । प्रकरणमा दोषी देखिने जो कोहिलाई नछाड्न प्रधानमन्त्री र गृहमन्त्रीको ढाडस पाएपछि प्रहरी पनि हौसिएको छ ।

यो प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नामसमेत पोलिएको छ ।

उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले उजुरी दिएका छन् । उनीहरूले कूल २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ । हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

गिरोहले वि. सं. २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसको केही दिनपछि दाङका सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए ।

उनीहरूकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो ।

सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा. इन्द्रजीत राईलाई पक्राउ गरेको थियो । प्रहरीले हिजो तत्कालीन गृह सचिव भई हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ ।

एमाले सचिव रायमाझी पनि पक्राउ परिसकेको तर प्रहरीले औपचारिक जानकारी नगराएको अवस्था छ । डा. राईका छोरा नीरज भने फरार छन् । नीरजले काठमाडौंका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरी स्रोतको भनाइ छ ।

गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ । गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरूका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनी भुटानी शरणार्थीका रूपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए ।

उनीहरूले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख असुलेका थिए । गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए । विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए ।

यो पढ्नु भयो ?